प्रतिशोधपूर्ण ढंगले पक्राउ गरियो, राजनीतिक र कानुनी लडाइँ लड्छु : रमेश लेखक
काठमाडौं : पूर्वगृहमन्त्री रमेश लेखकले प्रतिशोध र पूर्वाग्रही ढंगले आफूलाई पक्राउ गरेको भन्दै त्यसको राजनीतिक र कानुनी लडाइँ लड्ने बताएका छन्। शनिबार बिहान भक्तपुरको कटुन्जेस्थित निवासबाट प्रहरीले पक्राउ गरेपछि लेखकले भनेका छन्, ‘राजनीतिक पूर्वाग्रह र प्रतिशोध पूर्ण ढंगले मलाई पक्राउ गरेको छ। यसको राजनीतिक र कानुनी लडाइँ लड्न तयार छु। ‘क्याविनेटबाट निर्णय गरेर पक्राउ गरिएको छ। यस्तो कहिले हुँदैन संसारमा ।’
पूर्व प्रधानमन्त्री केपी शर्मा ओली र पूर्व गृहमन्त्री रमेश लेखकलाई भद्रकाली स्थित जिल्ला प्रहरी परिसर काठमाडौँमा राखिएको छ । शनिबार बिहान भक्तपुरबाट पक्राउ गरेर दुवै जनालाई परिसरमा लगिएको हो ।
भदौ २३ र २४ मा भएको जेनजी प्रदर्शनबारे जाँचबुझ गर्न गठित गौरीबहादुर कार्की नेतृत्वको आयोगले पूर्व प्रधानमन्त्री केपी ओली र रमेश लेखक सहित केन्द्रीय सुरक्षा समितिका पदाधिकारीलाई फौजदारी मुद्दामा अनुसन्धान गर्न सिफारिस गरेको थियो ।