केपी ओलीलाई फौजदारी मुद्दा चलाउन आयोगको सिफारिस

काठमाडौँ : जेनजी प्रदर्शनबारे छानबिन गर्न गठित उच्चस्तरीय आयोगले आफ्नो प्रतिवेदन प्रधानमन्त्री सुशीला कार्कीलाई बुझाएको छ। करिब पाँच महिनाको अनुसन्धान र छानबिनपछि आयोगका पदाधिकारीहरूले आइतबार सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा प्रतिवेदन हस्तान्तरण गरेका हुन्।

आयोगको नेतृत्व पूर्व न्यायाधीश गौरीबहादुर कार्कीले गरेका छन्। सदस्यमा पूर्व एआईजी विज्ञानराज शर्मा र कानुन व्यवसायी विश्वेश्वर भण्डारी रहेका छन्। प्रतिवेदन बुझाएपछि विज्ञानराज शर्माले गल्ती गरेका व्यक्तिहरूलाई कारबाहीका लागि सिफारिस गरिएको जानकारी दिएका छन्। उनले पत्रकारहरूसँग भने,'जसले गल्ती गरेको छ, उसलाई कारबाही हुन्छ, हामीले कारबाहीको सिफारिस गरेका छौँ।' प्रतिवेदन ९ सयभन्दा बढी पृष्ठको रहेको र विभिन्न अनुसूचीहरू पनि संलग्न छन्।

आयोगले भदौ २३ र २४ मा भएको जेनजी प्रदर्शनबारे छुट्टाछुट्टै राय प्रस्तुत गरेको छ । भदौ २३ मा काठमाडौँ नयाँ बानेश्वरमा प्रहरीको गोली लागेर घटनास्थल र अस्पतालमा उपचारका क्रममा २१ जनाको मृत्यु भएको थियो। आयोगले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र जिल्ला सुरक्षा समिति काठमाडौँका तत्कालीन अध्यक्षलाई जिम्मेवार ठहर गर्दै फौजदारी कानुन अनुसार कारबाही अघि बढाउन सिफारिस गरेको छ।

तत्कालीन गृहमन्त्री रमेश लेखक, गृह सचिव गोकर्णमणि दुवाडी र आईजीपी चन्द्रकुवेर खापुङसमेत घटनामा कानुनी दायरामा ल्याउन आयोगले सिफारिस गरेको छ। आयोगका अनुसार भदौ २४ मा भएको आगजनी र लुटमा संलग्नहरूलाई सम्बद्ध कानुनी प्रावधानअनुसार अभियोजन गर्न सरकारलाई सुझाव दिइएको छ।

मङ्सिर २४ मा जेनजी आन्दोलन प्रतिनिधि र सरकारबीच १० बुँदे सम्झौता भएको थियो। सो सम्झौतामा उच्चस्तरीय आयोगको कार्यादेश थपेर प्रदर्शनमा अत्यधिक बल प्रयोग गर्नेहरूबारे भेदभावविहीन छानबिन गरी फौजदारी कानुनअनुसार कारबाही अघि बढाउने उल्लेख थियो।

जेनजी आन्दोलनको क्रममा ७६ जनाको मृत्यु भएको थियो। मृतकमा प्रदर्शनकारी, कैदीबन्दी तथा बाल बन्दीसमेत समावेश छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

यो पनि हेर्नुहोस्