हालसम्म ८३ निर्वाचन क्षेत्रको नतिजा सार्वजनिक, रास्वपाको अग्रता कायमै
काठमाडौं। प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणना मुलुकभर जारी छ । निर्वाचन आयोग नेपाल का अनुसार यो समाचार तयार पार्दासम्म विभिन्न ८३ वटा निर्वाचन क्षेत्रको नतिजा आइसकेको छ ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ६७, नेपाली कांग्रेस नौ, नेपाल कम्युनिष्ट पार्टी (एमाले) तीन, नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) दुई र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) तथा स्वतन्त्र उम्मेदवार एक–एक जना विजयी भएका छन् । यो अवधिसम्म निर्वाचित उम्मेदवारमध्ये रास्वपाका अधिकांश उम्मेदवार ठूलो मतान्तरले विजयी भएका छन् ।
रुपन्देही क्षेत्र नं ३ बाट निर्वाचित डा लेखजङ्ग थापा ५० हजार ३७९ मतान्तरले विजयी भएका छन् । उनले ५८ हजार ८१४ मत ल्याउँदा निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवार सुशील गुरुङले आठ हजार ४३५ मत प्राप्त गरेका छन् ।
रुपन्देही क्षेत्र नं २ बाट रास्वपाका सुलभ खरेल ४३ हजार ६८९ मतान्तरले विजयी भएका छन् । खरेलले ५६ हजार ५५० मत प्राप्त गर्दा निकटतम प्रतिस्पर्धी विष्णुप्रसाद पौडेलले १२ हजार ८६१ मत प्राप्त गरेका छन् ।
मोरङ निर्वाचन क्षेत्र नं ६ बाट रास्वपाका उम्मेदवार रुविना आचार्य ५५ हजार ५१३ मतसहित विजयी भएकी छन् । उक्त निर्वाचन क्षेत्रमा नेपाली कांग्रेसका डा शेखर कोइराला १२ हजार ८५० मतसहित दोस्रो स्थानमा सीमित भएका छन् ।
मोरङ निर्वाचन क्षेत्र नं ४ बाट रास्वपाका उम्मेदवार सन्तोष राजवंशी ४० हजार ८३३ मत ल्याएर विजयी भएका छन् । उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका गुरुराज घिमिरेले १२ हजार ८१८ मत मात्र प्राप्त गरेका छन् ।
उच्च मतान्तरले विजयी हुने उम्मेदवारमध्ये धनुषा प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र नं ३ बाट रास्वपाका मनिष झा ४३ हजार ९८८ मतसहित विजयी भएका छन् । उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका विमलेन्द्र नीतिले १६ हजार ६५२ मत प्राप्त गरेका छन् ।
महोत्तरी क्षेत्र नं १ बाट रास्वपाका प्रमोदकुमार महतो ३४ हजार ६३६ मतसहित विजयी भएका छन् । उनका निकटतम प्रतिस्पर्धी नेपाली कम्युनिष्ट पार्टीका गिरिराजमणि पोखरेलले १२ हजार ६२४ मत प्राप्त गरेका छन् ।
बारा क्षेत्र नं ३ मा रास्वपाका अरबिन्द साह ३० हजार ६४५ मतान्तरले विजयी भएका छन् । उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका फरमुल्लाह मन्सुरले १० हजार ५२ मत प्राप्त गरेका छन् ।
बारा निर्वाचन क्षेत्र नं ४ मा रास्वपाका रहवर अन्सारी ४१ हजार २०० मतसहित विजयी भएका छन् । उनका निकटतम प्रतिस्पर्धी नेकपा (एमाले) का कृष्णकुमार श्रेष्ठले ११ हजार ६३९ मत प्राप्त गरेका छन् । जुन २९ हजार ५६१ को मतान्तर हो ।
पर्सा निर्वाचन क्षेत्र नं १ मा रास्वपाका उम्मेदवार बुद्धिप्रसाद पन्त २७ हजार २७४ मतसहित विजयी हुँदा निकटतम प्रतिस्पर्धी नेकपा (एमाले) का उम्मेदवार प्रदीप यादवले १३ हजार ३० मत प्राप्त गरेका छन् ।
काठमाडौँ निर्वाचन क्षेत्र नं १ मा रास्वपाका उम्मेदवार रञ्जु न्यौपाने १५ हजार ४५५ मतसहित विजयी भएकी छन् । निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवार प्रवल थापा क्षेत्रीले छ हजार ३६४ मत ल्याउँदा नौ हजार ९१ मतान्तरसहित न्यौपाने विजयी भएकी हुन् ।
काठमाडौँ निर्वाचन क्षेत्र नं २ मा रास्वपाका सुनिल केसी ३४ हजार २३८ मतसहित विजयी भएका छन् । निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका कविर शर्माले आठ हजार ८७४ मत प्राप्त गरेका छन् ।
काठमाडौँ निर्वाचन क्षेत्र नं ३ मा रास्वपाका राजुनाथ पाण्डे १८ हजार ७५७ मतसहित विजयी भएका छन् । उनका निकटतम प्रतिस्पर्धी उज्यालो नेपाल पार्टीका कुलमान घिसिङले ११ हजार १७१ मत प्राप्त गरेका छन् ।
काठमाडौँ निर्वाचन क्षेत्र नं ४ मा रास्वपाका पुकार बम २९ हजार १४२ मतसहित विजयी भएका छन् । उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका तिमल्सेनाले आठ हजार ८२४ मत प्राप्त गरेका छन् ।
काठमाडौँ निर्वाचन क्षेत्र नं ५ मा रास्वपाका सस्मित पोखरेल ३० हजार ७३७ मतसहित विजयी भएका छन् । उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका प्रदीप पौडेलले नौ हजार १५९ मत प्राप्त गरेका छन् ।
त्यस्तै निर्वाचन क्षेत्र नं ७ मा रास्वपाका उम्मेदवार गणेश पराजुली २७ हजार ८०५ मतसहित विजयी भएका छन् ।
काठमाडौँ निर्वाचन क्षेत्र नं ८ मा रास्वपाका विराजभक्त श्रेष्ठ २४ हजार ५९२ मतसहित विजयी भएका छन् । निर्वाचन क्षेत्र नं ९ मा रास्वपाका डोलप्रसाद अर्याल ३५ हजार ९३ मतसहित विजयी भएका छन् भने काठमाडौँ निर्वाचन क्षेत्र नं १० मा रास्वपाका उम्मेदवार प्रदीप विष्ट ३७ हजार ४६९ मतसहित विजयी भएका छन् ।
चितवन निर्वाचन क्षेत्र नं २ बाट रास्वपाका सभापति रबि लामिछाने ५४ हजार ४०२ मतसहित विजयी भएका छन् ।
यसैगरी रुकुम (पूर्वी भाग) बाट पुष्प कमल दाहाल तथा रोल्पाबाट बर्षमान पुन निर्वाचित भएका छन् ।
जुम्लाबाट ज्ञानेन्द्र शाही विजयी भएका छन् भने म्याग्दीबाट स्वतन्त्र उम्मेदवार महाबिर पुन निर्वाचित भएका छन् । देशभर मतगणना जारी रहेकाले थप परिणाम आउने क्रम जारी रहेको निर्वाचन आयोगले जनाएको छ ।