सेवाग्राही लाइन लाग्नुपर्ने हैरानी अन्त्य गर्न डिजिटल शासन अपरिहार्य छ – गगन थापा
काठमाडौं। नेपाली कांग्रेसका सभापति गगन थापा ले आम नागरिकले सरकारी सेवा लिँदा भोग्नुपरेको झन्झट र हैरानी अन्त्य गर्न डिजिटल शासन प्रणाली अपरिहार्य भएको बताएका छन्।
सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै उनले अहिलेको सेवा प्रवाह प्रणाली जटिल, ढिलो र नागरिकमैत्री नभएको उल्लेख गरेका हुन्।
सभापति थापाका अनुसार सरकारी कार्यालयमा सेवा लिन जाँदा घण्टौँ लाइनमा बस्नुपर्ने, एउटा फाइल एक कार्यालयबाट अर्को कार्यालयसम्म घुमिरहँदा अनावश्यक ढिलाइ हुने र सामान्य कामका लागि पनि पटक–पटक धाउनुपर्ने अवस्था अझै कायमै छ। यस्ता प्रवृत्तिले नागरिकलाई सरकारी सेवा लिन नै हैरानीको विषय बनाएको उनको भनाइ छ।
“हामीलाई ‘मिनिमम गभरमेन्ट बडिज, म्याक्सिमम गभरनेन्स’ चाहिएको छ,” थापाले भनेका छन्, “सेवा प्रवाहलाई सरल, छरितो र नागरिकमैत्री बनाउन अब शासनको शैली र तरिका परिवर्तन गर्नैपर्छ।” उनले प्रशासनिक संरचना सानो र प्रभावकारी बनाउँदै परिणाममुखी सुशासन सुनिश्चित गर्नुपर्नेमा जोड दिएका छन्।
थापाले ‘डिजिटल गभर्नेन्स’मार्फत सेवा प्रवाहको सम्पूर्ण प्रक्रिया सुधार गर्न सकिने बताएका छन्। अनलाइन प्रणाली, प्रविधि–आधारित सेवाहरू र पारदर्शी प्रक्रिया लागू भए नागरिकले झेल्दै आएको ढिलासुस्ती, कागजी झन्झट र अनावश्यक सम्पर्क घट्ने उनको विश्वास छ।
नेपाली कांग्रेस डिजिटल माध्यममार्फत सुशासन सुदृढ गर्न स्पष्ट रूपमा प्रतिबद्ध रहेको उल्लेख गर्दै उनले समयानुकूल शासन प्रणालीमा रूपान्तरण नगरी नागरिकको अपेक्षा पूरा गर्न नसकिने बताएका छन्। प्रशासनिक सुधार, पारदर्शिता र प्रविधि–मैत्री शासनमार्फत मात्रै प्रभावकारी सेवा प्रवाह सम्भव हुने उनको जिकिर छ।