नेपाली बीमा कम्पनीलाई ग्लोबल कम्पनीका रूपमा अघि बढ्न सहजीकरणका लागि ढकालको आग्रह
काठमाडौं। आईजीआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेडका अध्यक्ष हेमराज ढकालले नेपाली इन्स्योरेन्स कम्पनीको पूँजी र व्यवस्थापनमा भएको सुधारले बाह्य देशमा सेवा विस्तार गर्ने अवस्थामा पुगेको बताएका छन्।
शनिबार आईजीआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेडको नयाँ भवन उद्घाटन कार्यक्रममा बोल्दै अध्यक्ष ढकालले पहिलो चरणमा दक्षिण एसिया र अफ्रिकासम्म सेवा विस्तारका लागि सहजीकरण गर्न बीमा प्राधिकरणलाई आग्रह गरे। विदेशी इन्स्योरेन्स कम्पनीले नेपालमा बजार विस्तार गरे जस्तै नेपाली इन्स्योरेन्स कम्पनी पनि ग्लोबल कम्पनीका रूपमा स्थापित गर्ने समय आएको पनि उनको भनाइ थियो।
कार्यक्रममा नेपाल बीमा प्राधिकरणका कार्यकारी निर्देशक सुशीलदेव सुवेदीले बीमा क्षेत्रको नियामक निकायका तर्फबाट नेपाली कम्पनीहरूको बीमा व्यवसायलाई विश्व बजारमा विस्तार गर्ने सोच तथा लक्ष्यप्रति प्राधिकरणको नीतिगत सहयोग रहने बताए।
त्यस्तै, आईजीआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेडले शनिबार नै काठमाडौँको पानीपोखरीमा करिब ६० हजार वर्गफिट क्षेत्रफलमा २ तल्ला पार्किङसहित १२ तल्लाको भव्य भवनबाट सेवा दिने गरी भवन उद्घाटन गरेको छ।