मतदान सम्पन्न भएकाे २४ घण्टाभित्रै परिणाम

काठमाडौंः निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचन सम्पन्न भएको २४ घण्टा भित्रै प्रत्यक्ष तर्फको मतपरिणाम दिने तयारी पूरा भएको जनाएको छ ।

आयोगका अनुसार आवश्यक जनशक्ति र सामग्री सबै तयार भएकाले मतपरिणाम दिन ढिला नहुने जनाएको हो । आज (विहीबार) साँझ ५ बजेपछि मतदान सम्पन्न हुने छ र लगत्तै गणना सुरु हुने आयोगले जनाएको छ ।

त्यसलगत्तै समानुपातिकतर्फको मतगणना हुने जनाइएको छ । दुर्गम पहाडी जिल्लाका ६१ स्थानबाट नेपाली सेनाको हेलिकोप्टरमार्फत मतपेटिका संकलन गरिने र अन्य स्थानको गाडीबाट संकलन गरिने आयोगका सचिव कृष्णबहादुर राउतले जानकारी दिए ।

मतपत्र र मतपेटिकाको सुरक्षा र संकलन विगतमा झैँ एकीकृत सुरक्षा योजना बमोजिम हुने भएकाले मतपेटिका सुरक्षित हुने आयोगको भनाइ छ । कार्यवाहक प्रमुख आयुक्त भण्डारीले भने, मतपेटिका संकलन पहिलेदेखिकै व्यवस्था अनुसार हुने हो । नेपाली सेनाले छुट्टै संकलन गर्ने होइन । मतपेटिका किञ्चित साटफेर हुँदैन । यसका शङ्का गरिरहनु पर्दैन ।’

कतिपय जिल्लामा उम्मेदवारहरू समेत पैसा र मादक पदार्थ बोकेर मतदाता प्रभावित गर्न हिँडेको आशङ्कामा पक्राउ परेका छन् । कार्यवाहक प्रमुख आयुक्त भण्डारीले यस्ता गतिविधिमा आयोगले शून्य सहनशीलतानको नीति लिएको स्पष्ट पारे ।

यस निर्वाचनमा पहिलो हुने निर्वाचित हुने ९प्रत्यक्ष० निर्वाचन प्रणालीतर्फ ६१ वटा निर्वाचन चिह्नमा ६५ वटा राजनीतिक दल प्रतिस्पर्धामा छन् । प्रत्यक्षतर्फ तीन हजार १७ पुरुष, ३८८ महिला र एक अन्य गरी तीन हजार ४०६ उम्मेदवार मैदानमा छन् ।

त्यसैगरी समानुपातिक निर्वाचन प्रणालीतर्फ एक हजार ३६३ पुरुष र एक हजार ७७२ महिला गरी तीन हजार १३५ उम्मेदवार छन् । प्रत्यक्षतर्फ १६५ निर्वाचन क्षेत्र र समानुपातिकतर्फ ११० स्थानका लागि निर्वाचन हुने छन् ।

यसपटकको निर्वाचनमा ९६ लाख ६३ हजार ३५८ पुरुष, ९२ लाख ४० हजार १३१ महिला र २०० अन्य गरी एक करोड ८९ लाख तीन हजार ६८९ मतदाता कायम छन् । एक लाख ८६ हजार १४२ अस्थायी मतदाता रहेका छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

यो पनि हेर्नुहोस्