रवि–बालेनबिच सम्झौतामा हस्ताक्षर: रविलाई पार्टी नेतृत्व, बालेन आगामी प्रधानमन्त्री दलकाे नेता

काठमावडौं । राष्ट्रिय स्वतन्त्र पार्टी र काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहबिच एकता गर्ने सम्झौता भएको छ । केहीबेरअघि उनीहरुविच ७ बुँदे सम्झौता भएको हो ।

सम्झौतापत्र अनुसार, रवि लामिछानेले राष्ट्रिय स्वतन्त्र पार्टीको नेतृत्व गर्नेछन् भने बालेन शाहलाई आगामी प्रधानमन्त्रीका रुपमा अघि सारिनेछ । चुनाव चिह्न रास्वपाकै घण्टी हुनेछ । सम्झौतापत्रमा रास्वपा सभापति रवि लामिछाने र बालेन शाहले हस्ताक्षर गरेका छन् ।

काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह राष्ट्रिय स्वतन्त्र पार्टीभित्र आवद्ध हुन तयार भएपछि पार्टीको नाम, झण्डा र चुनाव चिन्ह यथावत राखिएको छ ।

सम्झौतापत्रमा लामिछाने र शाह दुवै आ–आफ्नो पदीय हैसियतमा मौन रहेर नाममात्रै लेखेका छन् । सम्झौतामा राष्ट्रिय स्वतन्त्र पार्टीको विषयवस्तु उल्लेख भएपनि रवि लामिछानेको नाममात्रै छ ।

उनले पार्टी सभापतिको हैसियतले हस्ताक्षर गरेका छैनन् । काठमाडौं महानगरपालिकाका मेयर शाहले पनि सम्झौतापत्रमा आफ्नो पदीय हैसियत खुलाएका छैनन् । सम्झौतापछि सम्भवतः बालेन शाह मेयर पदबाट राजिनामा दिएर पार्टी राजनीतिमा सक्रिय हुनेछन् ।

सम्झौताको पहिलो बुँदामा नवयुवा(जेनजी)ले भ्रष्टाचार र कुशासनको विरुद्धमा गरेको आन्दोलनको अपनत्व लिने उल्लेख छ । उनीहरुले घाइते र शहिद परिवारको माग सम्बोधन गर्ने प्रतिबद्धता जनाएका छन् ।

दोस्रो बुँदामा समुन्नत र सामाजिक न्यायका लागि प्रतिवद्धता जनाउदै नीतिगत, संस्थागत र संरचनागत सुधार गर्ने भनेका छन् । उनीहरुले नेपाललाई १० वर्षभित्र सम्मानजनक मध्यम आय भएको मुलुक बनाउने मार्गचित्रमा इमान्दार भएर समर्पित हुने भनेका छन् ।

रवि र बालेनले आफूहरुलाई पहिलो र दोस्रो पक्षको रुपमा प्रस्तुत गर्दै अब बृहत एकता गर्ने उद्घोष गरेका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीको नाम, चिन्ह र झण्डा पुरानै हुनेछ ।

सम्झौतापत्रमा, पार्टीको नेतृत्व रविले र आगामी सरकारको नेतृत्व बालेन शाहले गर्ने सहमती भएको छ । ‘राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रिय सभापति रवि लामिछाने रहने’ सम्झौतापत्रमा भनिएको छ, ‘आसन्न प्रतिनिधि सभाको निर्वाचनपछि संसदीय दलको नेता तथा भावी प्रधानमन्त्रीको उम्मेदवार बालेन्द्र शाह हुने ।’

पटकपटक एकताको छलफल र संवाद भएपनि, सम्झौतापत्रमा कुलमान घिसिङ र उनी आवद्ध उज्यालो नेपाल पार्टीका वारेमा केही उल्लेख छैन । तर बृहत एकताका क्रममा उनीहरुलाई पनि समेट्ने संकेत छ ।

सम्झौतापत्रमा भनिएको छ, ‘पार्टीको संगठनात्मक संरचनालाई थप सक्षम र फराकिलो बनाउन युवा अभियन्ता एवं अनुभवी विज्ञहरुलाई समुचित समायोजन गर्दै जिम्मेवारी तोक्दा योग्यता, समावेशिता र सार्वजनिक छविलाई आधार मान्ने ।’

सम्झौता तत्काल कार्यान्वयन गर्ने योजनाका साथ उनीहरुले निर्वाचन आयोगमा रहेको राष्ट्रिय स्वतन्त्र पार्टीको अभिलेख र दस्तावेज अद्यावधिक गर्ने घोषणा गरेका छन् ।

घोषणा अनुसार, अब बालेन पक्षका समानूपातिक उम्मेद्वारहरु पनि स्वतः रास्वपाबाट प्रतिस्पर्धा गर्नेछन् । र, सम्भवतः दुई दिनभित्रै उनीहरुले आपसी सहमती गरेर निर्वाचन आयोगमा समानूपातिक उम्मेद्वारहरुको सूची बुझाउनेछन् । प्रत्यक्षतर्फको मनोनयन भने अझै तीन साता बाँकी छ ।

उनीहरुले आफूहरुको अभियानलाई बैकल्पिक राजनीतिक शक्तिको नाम दिएर रास्वपाको सिद्धान्त, नेतृत्व र चिन्हमा गोलबद्ध हुन भनेका छन् ।

सम्झौतापत्रमा भनिएको छ, ‘लोकतान्त्रिक सुशासन, समुन्नति र सामाजिक न्यायका मुद्दा अघि बढाउन अन्य सुसंस्कृत एवं परिवर्तनकामी वैकल्पिक राजनीतिक शक्ति, समूह र व्यक्तिहरुलाई आव्हान गर्ने ।’

सम्झौतापत्रमा पार्टीका अरु पदाधिकारीहरुको भूमिका, दुई पक्षविच सम्झौता गर्दा उम्मेद्वारहरुको चयन एवं व्यवस्थापनको विषय उल्लेख छैन । यसअघि पनि रवि लामिछाने र बालेन शाहविच पटकपटक एकैसाथ निर्वाचनमा जानेवारे छलफल भएपछि टुंगोमा पुगेको थिएन ।

कारागारमा रहेका रवि उच्च अदालत तुलसीपुरको बुटबल इजलासको आदेशबाट रिहा भएपछि पार्टी एकताको छलफलले तिब्रता पाएको हो । यसक्रममा दुवै पक्षले उर्जामन्त्री कुलमान घिसिङसँग पनि छलफल गरेका थिए, आईतबार विहानैको सम्झौतामा उनी जोडिएका छैनन् । 

हेर्नुहोस्,  ७ बुँदे सम्झौताका विषयवस्तुहरु–

१. नवयुवाहरुले भ्रष्टाचार र कुशासन विरुद्ध गरेको आन्दोलनको अपनत्व लिंई घाईते तथा शहिद परिवारका मागहरुको यथोचित सम्वोधन गर्ने प्रतिवद्धता जनाउने,

. समुन्नति र सामाजिक न्यायका राष्ट्रिय उद्देश्यहरुका लागि गरिनु पर्ने गहिरा नीतिगत, संस्थागत एवं संरचनात्मक सुधारहरु रहरु मार्फत आर्थिक सामाजिक उन्नयन र सुसंस्कृत राजनीतिक अभ्यासको जगमा अर्को दश वर्षभित्र नेपाललाई सम्मानजनक मध्यम आय भएको राष्ट्र बनाउने मार्गचित्रको इमान्दार कार्यान्वयनप्रति समर्पित हुने,

३. पहिलो पक्ष र दोश्रो पक्षबीच बृहत् एकता भए पश्चात् स्थापित हुने राजनीतिक दलको नाम राष्ट्रिय स्वतन्त्र पार्टी, दलको झण्डा साविककै निलो पृष्ठभूमिको मध्य भागमा सेतो रङ्गको गोलाकार बीचमा निलो रङ्गको घण्टीको आकृति, दलको चुनाव चिन्ह घण्टी र केन्द्रीय कार्यालय काठमाडौँ उपत्यकामा रहने,

४. राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय सभापति रवि लामिछाने रहने र आसन्न प्रतिनिधि सभाको निर्वाचनपछि संसदीय दलको नेता तथा भावी प्रधानमन्त्रीको उम्मेदवार बालेन्द्र शाह हुने,

५. बृहत् एकता पश्चात् पार्टीको संगठनात्मक संरचनालाई थप सक्षम र फराकिलो बनाउन युवा अभियन्ता एवं अनुभवी विज्ञहरुलाई समुचित समायोजन गर्दै जिम्मेवारी तोक्दा योग्यता, समावेशिता र सार्वजनिक छविलाई आधार मान्ने,

६. यस सम्झौता बमोजिम राष्ट्रिय स्वतन्त्र पार्टी सम्बन्धी दस्तावेज निर्वाचन आयोगमा अद्यावधिक गर्ने,

७. राष्ट्रिय स्वतन्त्र पार्टीको सिद्धान्त, नेतृत्व र चुनाव चिन्ह घण्टी मा गोलबद्ध भइ लोकतान्त्रिक सुशासन, समुन्नति र सामाजिक न्यायका मुद्दा अघि बढाउन अन्य सुसंस्कृत एवं परिवर्तनकामी वैकल्पिक राजनीतिक शक्ति, समूह र व्यक्तिहरुलाई आह्वान गर्ने।

रवि लामिछाने  बालेन शाह
१३ पुस, २०८२
काठमाडौं



यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

यो पनि हेर्नुहोस्
यो पनि हेर्नुहोस्