प्रधानमन्त्रीले कथाकारलाई भनिन् : मेरो कथा लेख्दिनुस्

काठमाडौँ : प्रधानमन्त्री सुशीला कार्कीले सरकार अहिले राजनीतिक दल र जेनजीको दोहोरो दबाबमा परेको बताएकी छन्।

बिहीबार काठमाडौंमा आयोजित ‘डिशहोम सातौँ बाह्रखरी कथा प्रतियोगिता, २०८२’ को विजेता घोषणा तथा पुरस्कार वितरण समारोहमा बोल्दै उनले सरकारले पेन्डुलमजस्तै अवस्था भोगिरहेको धारणा राखिन्।

उनका अनुसार राजनीतिक दलले तत्काल सत्ता छाड्न दबाब दिइरहेका छन् भने जेनजीले तत्काल परिवर्तन खोजिरहेका छन्। ‘हरेक राजनीतिक दल र जेनजीले दबाब दिएर सरकारलाई पेन्डुलमजस्तै बनाएका छन्,’ उनले भनिन्।

सरकारले काम गरिरहे पनि आलोचना मात्रै हुने गरेको गुनासो गर्दै प्रधानमन्त्री कार्कीले भनिन्, 'बाहिरकाले काम गरेको देख्दैनन्। एकैपटक हुनुपर्छ भन्ने आशा राख्छन्। तर, यसका लागि क्षमता पनि हुनुपर्छ। हामी अचानोजस्तो पो भएछौँ। सबैले आजै छोड भन्छन्। जेनजीले पनि आजै छोड, भोलि नै छोड भन्छन्। हामी पेन्डुलमजस्तो भयौँ ।'

अहिलेको अवस्थामा सरकार छोडेर हिँड्ने अवस्था नरहेको उनले जिकिर गरिन् । ‘वर्तमान सरकारले राजीनामा दिए अर्को आउनुपर्छ। आउने सरकारको अवस्था पनि उस्तै नहोला भन्न सकिँदैन,’ उनको भनाइ थियो।

'छोड भन्दैमा छोडेर हिँड्न पनि भोलि तिमीहरूको औकात छोडेर हिँड्ने रहेछ भनिहाल्छन्,' प्रधानमन्त्री कार्कीले अगाडि थपिन्, 'यहाँ कथाकारहरू हुनुहुन्छ । हाम्रो कथा पनि लेख्नुस् । मेरो, गृहमन्त्री र अर्थमन्त्रीको पनि कथा लेख्नुहोस् ।'

प्रधानमन्त्री कार्कीले यस्तै अवस्था कायम रहे आगामी दिन सहज नहुने चेतावनी दिइन्। 'यस्तै मारकाट भयो भने के हुन्छ, मलाई बंगलादेश चाहिँ नहोस् भन्ने लागेको हो,' उनले भनिन्, 'संसद्‌मा छानिएर आउने व्यक्ति इमानदार हुनुपर्‍यो। अहिले शैली राम्रो देखेको छैन। यही हिसाबले देश चल्दैन। युवा आउनु पर्‍यो। अहिले ५० सम्मकालाई म युवा मान्छु।'

दिनदिनै विदेशबाट नेपाली डिपोर्ट भइरहेको उल्लेख गर्दै उनले देश निर्माणको विकल्प नरहेको बताइन्।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

यो पनि हेर्नुहोस्
यो पनि हेर्नुहोस्