एमाले विधान महाधिवेशन : १० वटा समूहमा प्रतिवेदनमाथि छलफल हुँदै

काठमाडौँ । ललितपुरको गोदावरीमा जारी नेकपा एमालेको विधान महाधिवेशनको दोस्रो दिन आज प्रतिवेदनहरूमाथि समूहगत छलफल हुँदैछ ।

आज दोस्रो दिनको कार्यक्रममा निर्वाचन आयोग, लेखा आयोग र अनुशासन आयोगको प्रतिवेदन प्रस्तुत हुँदैछ। हिजै यी प्रतिवेदन प्रस्तुत गर्ने कार्यसूची रहे पनि समय अभावको कारण प्रस्तुत हुन पाएन।

आज तीनवटा प्रतिवेदनको प्रस्तुतीकरण सकिएपछि सबै प्रतिवेदनमाथि समूहगत छलफल गर्ने तयारी छ। प्रतिनिधिलाई १० समूहमा विभाजन गरी प्रतिवेदनमाथि समूहगत छलफल गर्ने तयारी गरिएको एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले बताएका छन्।

शुक्रबारदेखि सुरु भएको एमालेको दोस्रो विधान महाधिवेशनको पहिलो दिन शुक्रबार पार्टी अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक प्रतिवेदन, उपाध्यक्ष एवं उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले विधान संशोधनसम्बन्धी प्रस्ताव र महासचिव शंकर पोखरेलले सङ्गठनात्मक प्रतिवेदन प्रस्तुत गरेका छन्।

आज केन्द्रीय अनुशासन आयोगका तर्फबाट अध्यक्ष केशव वडाल, केन्द्रीय लेखा आयोगका तर्फबाट अध्यक्ष डा.पुष्प कँडेल र केन्द्रीय निर्वाचन आयोगका तर्फबाट अध्यक्ष डा.विजय सुब्बाले प्रतिवेदन प्रस्तुत गर्दैछन् ।

पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले यो विधान महाधिवेशनमा आफू पनि सहभागी हुन जोडबल गरेकी थिइन्। तर, एमालेले भण्डारीको पार्टी सदस्यता नै रद्द गरेपछि भण्डारीसँगै उनी पक्षीय नेता कार्यकर्ता यतिबेला रुष्ट छन्।

पार्टीको दोस्रो विधान अधिवेशनमा सहभागी हुनबाट आफूलाई वञ्चित गरिएको भन्दै भण्डारीले महाधिवेशन स्थलमै शुभकामना सन्देश बाँडेकी छन्। उनले आफ्नो चिठी अध्ययन गर्न पनि महाधिवेशनका प्रतिनिधिलाई आग्रह गरेकी छन्।

भण्डारीको सदस्यताबारे केन्द्रीय कमिटीको निर्णयविरुद्ध वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्षहरू रामबहादुर थापा बादल, युवराज ज्ञवाली, सुरेन्द्र पाण्डेलगायत नेताहरू उभिएका छन् भने भण्डारीको सदस्यतालगायत सांगठनिक विषय समेटेर महाधिवेशनमा स्थायी कमिटी सदस्य कर्ण थापाले फरक मत प्रस्तुत गर्दैछन् ।

‘निर्णायक राष्ट्रिय शक्ति निर्माण हाम्रो संकल्प, समृद्ध नेपाल सुखी नेपाली राष्ट्रिय गन्तव्य’ मूल नारासहित सुरु भएको एमालेको विधान महाधिवेशनमा कुल २ हजार ३ सय ४१ जना सहभागी छन्।

एमालेले विधान महाधिवेशन भोलिसम्ममा सक्ने तयारी गरेको छ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

यो पनि हेर्नुहोस्
यो पनि हेर्नुहोस्