विप्लवसँग पार्टी एकता गरेर पार्टीको शाक जोगाउने तयारीमा प्रचण्ड

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ पुराना सहयात्री नेत्रविक्रम चन्द ‘विप्लव’लाई भेट्न सोमबार ललितपुरको हरिसिद्धिस्थित उनकै निवास पुगे । भेटमा पछिल्लो राजनीतिक घटनाक्रम र पार्टी एकताबारे संवाद भएको दुवै दलका नेताहरू बताउँछन् । 

पार्टी एकताका लागि दुवै दलका नेताहरूबीच लामो समयदेखि छलफल चलिरहेको छ । यसअघि, गत असार ७ गते प्रचण्ड र विप्लवबीच भेटवार्ता भएको थियो । त्यतिबेला विप्लवले खुमलटार पुगेरै प्रचण्डसँग भेट गरेका थिए । नेताहरूका अनुसार, त्यस भेटमा पनि पछिल्ला विकसित राजनीतिक घटनाक्रम, समाजवादी मोर्चालाई सक्रिय बनाउने र पार्टी एकताको विषयमा छलफल भएको थियो ।

एकता कति सहज ०७१ मा माओवादी केन्द्रबाट अलग भएका विप्लवले छुट्टै समूह बनाएका थिए । अलग भएको ११ वर्षपछि प्रचण्ड र विप्लव एकताको छलफल गरिरहेका छन् । एकताबारे दुई दलबीच लामो समयदेखि छलफल चलिरहे पनि निष्कर्षमा पुग्न सकेका छैनन् ।

नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ एकता सहज नभएको बताउँछन् । “एकताका लागि माओवादी केन्द्रका अध्यक्ष प्रचण्डज्यूले पार्टीको स्थायी समिति बैठकको निर्णयअनुसार नै एकताका लागि अघि बढ्ने बताउनुभयो । तर, यो उहाँले भनेजस्तो सहज छैन,” उनले भने, “राजनीति र विचार सबै मिल्नुपर्‍यो, अहिलेको अवस्थामा माओवादी र हामी छुट्टै तवरले जनतामाझ प्रस्तुत भइरहेका छौँ, सम्भावना नभएको होइन, अझै खोजी गर्नुपर्छ ।”

विप्लव नेतृत्वको नेकपा विगतमा हिंसात्मक गतिविधिमा सक्रिय थियो । शान्तिपूर्ण बाटोमा रूपान्तरण हुँदै गए पनि कतिपयले अझै विश्वास गर्दैनन् । प्रकाण्ड आफूहरू शान्तिपूर्ण क्रान्तिको पक्षमा रहेको बताउँछन् । “विप्लव समूहले हाल शान्तिपूर्ण क्रान्तिको पक्षमा छ भन्ने संकेत दिएको छ । उसले स्थानीय र क्षेत्रीय आन्दोलन, विचार गोष्ठी, आदिका माध्यमबाट जनतामाझ आफ्नो उपस्थितिलाई सुदृढ पार्न खोज्दै छ,” उनले भने । वैचारिक मतभेद र नेताहरूको व्यवस्थापन गर्न चुनौती रहेकाले पनि एकतामा समस्या भइरहेको नेताहरू बताउँछन् ।

विप्लव समूह वामपन्थी, क्रान्तिकारी, र माओवादी विचारधारामा आधारित छ । उसले आफूलाई माओवादी केन्द्रभन्दा पृथक् दाबी गर्छ ।

एकताको विषयलाई लिएर माओवादी केन्द्रका नेताहरूले भने सहजै लिएका छन् । प्रचण्डको सचिवालयका सदस्य गोविन्द आचार्य आजको भेट एकतामै केन्द्रित रहेको बताउँछन् । कतिपयले जनार्दन शर्मालाई पाखा लगाएर विप्लवलाई भित्र्याउन लागेको बताउने गरे पनि त्यसमा सत्यता नरहेको उनको दाबी छ । 

विप्लव समूहको विगतविप्लव नेतृत्वको नेकपा माओवादी जनयुद्ध अधुरो रहेको तर्क गर्छ । त्यसलाई वैचारिक, संगठनात्मक र रणनीतिकरूपमा निरन्तरता दिनुपर्ने विप्लव समूहको जोड छ । उसले नेपालको संसदीय व्यवस्था र बहुदलीय प्रतिस्पर्धालाई असफल, भ्रष्ट र जनविरोधी ठान्छ ।  विप्लव समूहले २०७२/२०७३ मा सशस्त्र रणनीति र भूमिगत अभियानहरू सञ्चालन गरेको थियो । सरकारी संरचनामाथि आक्रमण, निर्माणाधीन परियोजनामा तोडफोड, ठेकेदारसँग चन्दा असुली, धम्कीलगायत गतिविधि गरेपछि सरकारले ०७६ सालमा विप्लव समूहमाथि प्रतिबन्ध नै लगाएको थियो । 

०७८ सालपछि मात्र विप्लव समूह शान्तिपूर्ण राजनीतिमा आएको हो । यस समूहले ०७८ सालमा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारसँग तीनबुँदे सम्झौता गर्दै हिंसात्मक गतिविधि त्याग्ने, संविधानको दायराभित्र रहेर राजनीति गर्ने, राज्यले प्रतिबन्ध हटाउने विषयमा सहमति गरेको थियो । त्यस सम्झौतापछि विप्लव समूहले अर्धसंसदीय राजनीति गर्न थाले पनि अझै चुनावी प्रतिस्पर्धामा उत्रिएको छैन ।

प्रचण्ड नेतृत्वको नेकपा (माओवादी केन्द्र) र विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी दुवै माओवादी आन्दोलनको पृष्ठभूमिबाट आएका वामपन्थी पार्टीहरू हुन् । तर, समयक्रमसँगै दुवै पार्टीबीच दर्शन, रणनीति, संगठन र व्यवहारमा भिन्नता पाइएको छ । नेकपा (माओवादी केन्द्र) र नेकपा कम्युनिस्ट पार्टी दुवै दल समाजवादी मोर्चामा आबद्ध छन् । माओवादी केन्द्रले मोर्चामा रहेका दलहरूसँग एकताको प्रयास अघि बढाएको छ ।


यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

यो पनि हेर्नुहोस्
यो पनि हेर्नुहोस्