मसँग बहुमत छ भनेर जे पनि निर्णय गर्न पाइँदैन: महामन्त्री गगन थापा

काठमाडौं। नेपाली कांग्रेसका महामन्त्री गगन थापाले संख्या (बहुमत) छ भनेर जे पनि निर्णय गर्न नहुने बताएका छन्।

संख्याका आधारमा गरिने निर्णय प्रजातन्त्रमा वैधानिक हुने भए पनि त्यो जनताले स्वीकार गर्छन् कि गर्दैनन्, वैध हुन्छ कि हुँदैन भनेर सोच्नुपर्ने थापाले बताए।

‘हामी निर्वाचन जित्छौं, मत प्राप्त गर्छौं, सरकार बनाउँछौं। प्रजातन्त्रमा संख्याका आधारमा निर्णय गर्न पाइन्छ, तर मसँग संख्या छ भनेर जे पनि निर्णय गर्न पाइँदैन,’ प्रजातन्त्र सेनानी नन्दप्रसाद शिवाकोटी स्मारिका विमोचनमा बुधबार बोल्दै थापाले भने, ‘संख्याका आधारमा गरिने निर्णय वैधानिक हुन्छ, संख्या भएपछि सरकार बन्छ। बहुमत भएपछि निर्णय गर्ने कुरा वैधानिक हुन्छ। तर आममानिसले त्यो निर्णय स्वीकार्छ कि स्वीकार्दैन, निर्णय गरियो संख्याका आधारमा वैधानिक हुन्छ, सबैले स्वीकारे भने त्यो वैध हुन्छ।’

प्रजातन्त्र चल्नका लागि वैधानिक मात्र नभई वैध पनि हुनुपर्ने उनले बताए। ‘हामीले गर्ने निर्णय आमनागरिकले स्वीकार्छ कि स्वीकार्दैन त्यो हेर्नुपर्छ, त्यो बुझ्नुपर्छ,’ उनले भने।

कांग्रेसले विगतमा गरेका निर्णय वैधानिक र वैध रहेको पनि उनले बताए।

पछिल्लो समय नेपाली कांग्रेस र नेकपा (एमाले) ले उपसभामुख ईन्दिरा राना मगरमाथि आचरण प्रश्न उठाउँदै दुई तिहाइ पुर्‍याएर पदमुक्त गर्ने तयारी गरिरहेका छन्।


यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

यो पनि हेर्नुहोस्
यो पनि हेर्नुहोस्