सार्वभौमसत्मता जनता हुन् जनताकाे सेवा गर्न सभापति देउवाको नेता कार्यकर्तालाई आग्रह
काठमाडौँ । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले पार्टीका नेता प्रदीप गिरी अध्ययनशील नेता भएको बताउनुभएको छ।
कांग्रेसका समाजवादी चिन्तक प्रदीप गिरीको स्मृतिमा आयोजित कार्यक्रममा उहाँले गिरी कांग्रेसमा विद्वान नेता भएको बताउनुभएको हाे । सभापति देउवाले भन्नुभयाे, “प्रदिपजीलाई मैले भारतको बनारसमा चिनेको हुँ, पछि उहाँ र म जेलमा पनि सँगै थियौँ । उहाँ धेरै पढने मान्छे । रातभरी किताब पढ्न सक्ने व्यक्ति हो ।” दुर्भाग्यले नेता गिरी चाँडै सबैलाई छोडेर गएको उल्लेख गर्नुभयो । सभापति देउवाले नेता गिरीले छोडेर गएका बाँकी काम सबैले मिलेर पूरा गर्नुपर्ने उल्लेख गर्नुभयो।
सभापति देउवाले जनताको मन जित्नेगरी काम गर्न नेता कार्यकर्तालाई आग्रह पनि गर्नुभयो । “जनता भनेका सार्वभौमसत्ता सम्पन्न हुन् । जनता मालिक हुन र जनताभन्दा ठूलो कोही छैन ।” जनताको मन जित्न आग्रह गर्नुभयो । कतिपयले आफूलार्ई कतिपटक प्रधानमन्त्री भएको होला भन्ने गरेकोप्रति लक्षित गर्दै उहाँले जनताले भोट दिएको, पार्टीका साथीभाइले सहयोग गरेको र अन्य पार्टीका साथीले पनि सहयोग गरेका कारण आफू प्रधानमन्त्री हुँदै आएको बताउनुभयाे।
सभापति देउवाले भन्नुभयो, “म शौभाग्यशाली व्यक्ति पनि हुँ, सधैँ प्रत्यक्षमा निर्वाचन लडेँ, जनताले भोट दिएर जिताए, कहिले पनि हारेको छैन ।” उहाँकाे भनाइ रहेको थियाे ।
कार्यक्रममा नेकपा (एमाले) का महासचिव शङ्कर पोखरेलले नेता गिरी बिपी कोइरालासँग विद्रोह गर्नसक्ने युवाका रुपमा आफूले चिनेको बताउनुभएको । उहाँले कुनै पनि सैद्धान्तिक आधार नभएका तथा उद्देश्य र गन्तव्य नभएका केही दलहरुले पछिल्लो समय पुराना पार्टी र पुरानो नेतृत्व काम लाग्दैन भन्ने भाष्य निर्माण गर्न खोजेको टिप्पणी गर्दै दलहरु कहिल्यै पुराना नहुने जिकिर गर्नुभयो ।
नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले आफूहरुले कार्लमाक्र्सका बारेमा पढाउनसक्ने क्षमता भएका नेताका रुपमा प्रदीप गिरीलाई चिनेको बताउँदै उहाँका लेख र किताबबाट आफू प्रभावित भएको स्मरण गर्नुभयो । उहाँले गिरीको निष्ठा र नैतिकता अहिलेको राजनीतिमा झनै सान्दर्भिक भएको उल्लेख गर्नुभयो ।
नेकपा (एकीकृत समाजवादी)का महासचिव डा. घनश्याम भुसालले नेता गिरी एसियामा माक्र्सका विचार र विचारको प्रभावका बारेमा बुझेका कमै मानिसमा पर्ने व्यक्तित्व भएको उल्लेख गर्नुभयो। साथै उहाँले नेता गिरी पाखण्डबिनाको सच्चा समाजवादी नेता भएको र उहाँलाई आफूले जे बोल्यो त्यही जीवनमा आत्मसात गर्ने नेताका रुपमा आफूले चिनेको बनाउनुभयो। अहिलेको राजनीतिमा नेता गिरी जस्तो नेताको खडेरी रहेको उहाँको भनाइ थियो ।
जनता समाजवादी पार्टी नेपालका प्रमुख सचेतक रेखा यादवले स्व गिरी मधेसका भावना बुझ्ने र फराकिलो राजनीतिक विचार भएका बिर्सन नसकिने नेता भएको बताउनुभयो। कांग्रेसको प्रचार विभाग प्रमुख मीनबहादुर विश्वकर्माले उहाँलाई फराकिलो र बृहत् राजनीतिक दृष्टिकोण भएका नेताका रुपमा चित्रित गर्दै नेपालको राजनीतिमा उहाँको योगदान तथा विचार सदैव स्मरणीय रहिरहने उल्लेख गर्नुभयो।
पार्टीका केन्द्रीय सदस्य एवं आयोजक स्कुल अफ डिमोक्रेसीका अध्यक्ष नैनसिंह महरले नेता गिरीको अँगाल्नु भएको नैतिकताको बाटो अहिले राजनीतिमा विस्तार गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो ।
नेता गिरीका धर्मपत्नी भारती सिलवालले उहाँ गान्धी, अम्बेडकर, लोहिया जस्ता राजनीतिक चिन्तकबाट प्रभावित बहुआयामिक व्यक्तित्व र दर्शनमा गहिरो ज्ञान भएको कुशल राजनीतिक चिन्तक भएको बताउनुभएको ।