बागमती प्रदेश सरकारबाट असन्तुष्टि जनाउँदै कांग्रेसका ४ जना मन्त्रीले दिए राजीनामा

काठमाडौँ । बागमती प्रदेश सरकारमा रहेका नेपाली कांग्रेसका चार जना मन्त्रीले पदबाट राजीनामा दिएका छन्। आन्तरिक मामिला तथा कानुन मन्त्री सुरजचन्द्र लामिछाने, युवा तथा खेलकुद मन्त्री मीनकृष्ण महर्जन, पर्यटन मन्त्री विमल ठकुरी र सहकारी मन्त्री मधुकुमार श्रेष्ठले शुक्रबार राजीनामा दिएका हुन्।

बागमतीमा कांग्रेस संसदीय दल नेता बहादुर सिं लामा मुख्यमन्त्री छन्। मुख्यमन्त्री लामालाई पदबाट राजीनामा दिन सभापति शेरबहादुर देउवाले केही समयदेखि नै आग्रह गरे पनि मुख्यमन्त्री लामाले अस्वीकार गर्दै आएका थिए। गत बुधबार पनि मुख्यमन्त्री लामालाई बोलाएर सभापति देउवाले राजीनामा दिन सुझाव दिएका थिए।

मुख्यमन्त्री लामाले आधा-आधा कार्यकाल मुख्यमन्त्री बन्ने भन्ने पूर्वसहमति तोडेर सम्पर्कविहीन भएको आरोप लागेको छ। सरकार बनेको एक वर्षपछि पद छाड्ने पूर्वसहमति मुख्यमन्त्री लामाले अस्वीकार गरेको आरोप छ। कांग्रेसले सांसद ईन्द्रबहादुर बानियाँको नेतृत्वमा नयाँ सरकार बनाउन खोजेको छ।

बागमतीका आर्थिक मामिला तथा योजना मन्त्री कुन्दनराज काफ्लेले ल्याएको बजेटमाथि पार्टीभित्रै असन्तुष्टि छ भने अन्य दलहरूले पनि विरोध गरेका छन्। 

ईन्द्रबहादुर बानियाँलाई संसदीय दल नेता बनाउन २१ जना सांसदहरूले हस्ताक्षर गरेका छन्। हस्ताक्षर गर्ने सांसदहरू सभापति देउवा, महामन्त्री गगन थापा र पूर्वमहामन्त्री प्रकाशमान सिंहनिकट सांसदहरू हुन्।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

यो पनि हेर्नुहोस्
यो पनि हेर्नुहोस्