उत्तेजना र भीड उक्साउने राजनीति कांग्रेसको शैली होइन स् गगन थापा
सुनसरी । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पार्टीले उत्तेजनात्मक नारा र भीड उक्साउने शैलीको राजनीतिमा विश्वास नराख्ने स्पष्ट पारेका छन्। शुक्रबार धरानमा आयोजित नेपाल लोकतन्त्रवादी याक्थुङ लिम्बू सङ्घको प्रथम महाधिवेशनमा बोल्दै थापाले लोकतन्त्रमा उत्तेजनाभन्दा शान्ति, स्थिरता र संस्थागत सुधारमा कांग्रेस केन्द्रित रहेको बताउनुभयो।
उहाँले नेपाली कांग्रेस संविधान निर्माणदेखि कार्यान्वयनसम्मको सम्पूर्ण यात्रामा अग्रणी भूमिकामा रहेको उल्लेख गर्नुभयो, “हामी संविधान निर्माणको संवैधानिक प्रक्रियामात्र होइन, त्यसलाई व्यवहारमा उतार्ने जिम्मेवारीमा पनि अगाडि छौं।” थापाका अनुसार, लोकतान्त्रिक मूल्य, बहस, सहमति र नीतिनै कांग्रेसको राजनीतिको मूल आधार हो।
राजनीतिमा भावना हुने भए पनि केवल भावनालाई बेचेर राष्ट्र निर्माण सम्भव नभएको उल्लेख गर्दै थापाले परिवर्तनको प्रक्रिया शान्त, स्थायी र सबलीकरणको बाटो हुँदै अघि बढ्नुपर्ने धारणा व्यक्त गरे। उनले विवेकपूर्ण बहस र नीति निर्माणलाई बलियो बनाउँदै जानुपर्नेमा जोड दिँदै लोकमत र भावनाभन्दा विचार, नीति र पहुँचमुखी संवाद आवश्यक रहेको बताउनुभयो।
राष्ट्रवादको नाममा पुराना व्यवस्थामा फर्कन नहुने धारणा राख्दै उनले प्रजातन्त्रले मुलुकको आर्थिक र सामाजिक परिवर्तनमा अतुलनीय योगदान दिएको स्पष्ट गरे। “अहिले हाम्रो पहिलो आवश्यकता दुई दलको सरकारलाई स्थायित्व दिनु र राजनीतिक प्रक्रियालाई अझै शक्तिशाली बनाउनु हो,” उनले भने।
महामन्त्री थापाले कांग्रेसले सधैं लोकतान्त्रिक प्रक्रियालाई सम्मान गर्दै शान्तिपूर्ण परिवर्तनमा विश्वास राख्ने बताए। उत्तेजना, उक्साहट र अतिवादले लोकतन्त्रलाई नै कमजोर बनाउने भएकाले कांग्रेस जिम्मेवार ढंगले अघि बढ्ने उनको भनाइ छ।