सरकारका कमीकमजोरी भए सुधार गर्दै मिलेर अगाडी बढ्छौँ : सभापति देउवा

फाइल तस्बिर

काठमाडौँ, शनिबार ३ गते । नेपाली कांग्रेसका सभापति तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले वर्तमान सरकारका कमीकमजोरी सुधार गर्दै लैजाने बताउनुभएको छ ।  प्रजातान्त्रिक बिचार समाजले शनिबार काठमाडौँमा आयोजना गरेको कार्यक्रममा देउवाले कांग्रेस ठुलो पार्टी भए पनि बहुमत नभएकाले मिलेर सरकार बनाउनुपर्ने बाध्यता भएको बताउनुभयो । कांग्रेस–एमालेको संयुक्त सरकारका केही कमी कमजोरी भए सुधार गर्दै अघि बढ्ने बताउनुभएको छ ।

उहाँले अहिलेको प्रणालीमा कुनै पनि दलको बहुमत आउन गाह्रो हुने भएकाले मिलेर सरकार बनाउनुपर्ने र मिलेरै चुनाव लड्नुपर्ने बाध्यता रहेको समेत बताउनुभयो । सभापति देउवाले देशमा समावेशी संविधान रहेकाले सबैको प्रतिनिधित्व संसदमा रहेको छ । उहाँले २०४८ सालमा कांग्रेसको नेतृत्वको सरकार बनेपछि देशमा धेरै विकासका कामहरू भएको उल्लेख गर्नुहुँदै अहिले पनि मुलुक विकासको बाटोमा अघि बढिरहेको बताउनुभयो ।

सभापति देउवाले २०५२ सालमा आफू प्रधानमन्त्री हुँदा सांसदहरूलाई सुविधाका लागि सबैको सहमतिले गाडी खरिदमा भन्सार छुट दिने योजना ल्याएको स्मरण गर्दै त्यसलाई विरोध गर्नेले पजेरो काण्ड भन्ने गरेको पनि बताउनुभयो । त्यसबेला भन्सार छुट दिने योजनाको विरोध गर्नेले नै सबैभन्दा पहिले छुटमा गाडी किनेको बताउनुभयो । सभापति देउवाले प्रजातन्त्रमा बोल्न पाउने अधिकार भएकाले सोही विषयमा अहिले पनि टिका टिप्पणी हुनु ठुलो कुरा नभएको विचार राख्नुभयो ।

तत्कालीन समयमा देउवा र राप्रपाको संयुक्त सरकार बनेपछि सरकार टिकाउनका लागि देउवाले सांसदलाई गाडी खरिदमा भन्सार छुट दिने योजना ल्याएको चर्चा अहिले पनि हुने गरेको छ । सो समयमा भन्सार छुटमा पाइएको गाडीको व्यापार समेत सांसदहरूले गरेको आरोप लाग्दै आएको छ । 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

यो पनि हेर्नुहोस्
यो पनि हेर्नुहोस्