सगरमाथा संवाद २०२५: ‘हिमालको व्यथा, “हामी प्रकृतिको संरक्षक त हौं, तर प्रभावमा असमान रुपमा पीडित भइरहेका छौं”: परराष्ट्रमन्त्री आरजु राणा

परराष्ट्रमन्त्री आरजु राणा देउवाकाे सचिवालय

काठमाडौं‌, जेठ २ गते । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले जलवायु परिवर्तनका विषयमा गहिरो संवादका लागि काठमाडौंमा सुरु भएको सगरमाथा संवादलाई ऐतिहासिक अवसरका रूपमा सम्बोधन गर्नुभएको छ। सोल्टी होटेलमा बिहीबार सुरु भएको उद्घाटन सत्रमा उहाँले सहभागी विदेशी तथा स्वदेशी अतिथिहरूलाई स्वागत गर्दै नेपालबाट सुरु भएको यो पहलले जलवायु न्याय र समन्वयात्मक कारबाहीका लागि नयाँ ढोका खोल्ने विश्वास व्यक्त गर्नुभएको।

वादे वादे जायते तत्त्वबोधः भन्ने पुरानो उखानको प्रेरणाले यो संवाद सुरु भएको हो, मन्त्री देउवाले भन्नुभयो, विविध विचार र दृष्टिकोणको आदानप्रदानबाटै सत्यको बोध सम्भव हुन्छ।

सगरमाथा संवाद २०२५ को मूल विषयवस्तु ‘जलवायु परिवर्तन, हिमाल र मानवताको भविष्य’ रहेको छ। देउवाले नेपालजस्तो हिमाली देशमा जलवायु परिवर्तनको प्रभाव अत्यन्त गम्भीर भइसकेको उल्लेख गर्नुहुँदै, “हामी प्रकृतिको संरक्षक त हौं, तर प्रभावमा असमान रुपमा पीडित भइरहेका छौं।”

उहाँले जलवायु संकट मानव अस्तित्वकै संकट बनेको उल्लेख गर्दै ठोस कारबाहीको अभावले वातावरण मात्र होइन, मानवताको भविष्य नै संकटमा पारेको धारणा राख्नुभयो। “हामीले ग्रहलाई जसरी पायौं, त्यसरी नै भविष्यका पुस्तालाई हस्तान्तरण गर्नु हाम्रो नैतिक दायित्व हो,” उहाँले जोड दिइन्।

नेपालको जलवायु सम्बन्धी प्रतिबद्धताको चर्चा गर्दै उहाँले भनिन्, नेपालले सन् २०४५ भित्र कार्बन उत्सर्जन शून्य बनाउने लक्ष्य लिएको छ। जलविद्युत्, सामुदायिक वन व्यवस्थापन र स्थानीय अनुकूलन योजनाले हाम्रो प्रयासलाई टेवा दिइरहेका छन्। तर हाम्रो क्षमता सीमित छ।

मन्त्री देउवाले जलवायु वित्त सुनिश्चितता, प्रविधि हस्तान्तरण र अन्तर्राष्ट्रिय साझेदारीको आवश्यकता औंल्याउँदै जलवायु न्यायको निम्ति आवाज उठाइन्। “हामीले हाम्रा पहाडहरूमा संकट भोगिरहेका छौं, सागरमा त्यसको प्रतिध्वनि सुनिन्छ। यी दुईको भविष्य एक आपसमा गाँसिएको छ,” उहाँले भन्नुभयो।

जलवायु परिवर्तनको प्रभावमा महिला, आदिवासी, युवा र सिमान्तकृत समुदायहरू झनै संवेदनशील रहेको उल्लेख गर्नुहुँदै मन्त्री देउवाले उनीहरूको ज्ञान र अनुभवलाई मूल्यांकन गर्नुपर्ने र समाधानको केन्द्रमा ल्याउनु पर्ने आवश्यकता औंल्याउनुभयो।

संवादले राजनीतिक इच्छाशक्ति जागृत गर्ने र जलवायु संकटको समाधानतर्फ ठोस कदम चाल्ने प्रेरणा दिने अपेक्षा राख्दै देउवाले भन्नुभयो, यो संवादले पर्वतलाई समुद्रसँग जोड्ने पुल बनोस्, हरित अर्थतन्त्रलाई अगाडि बढाओस् र सबैका लागि जलवायु न्याय सुनिश्चित गरोस्।

कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओली, कोप-२९ अध्यक्ष, संयुक्त राष्ट्रसंघका महासचिवको सन्देश, र भारत तथा चीनका प्रतिनिधिहरूको उपस्थिति उल्लेखनीय थियो। संवाद तीन दिनसम्म चल्नेछ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

यो पनि हेर्नुहोस्
यो पनि हेर्नुहोस्