नयाँ सरकार कहिलेसम्म बन्ला त यस्ताे छ प्रक्रिया ?

काठमाडौँ । फागुन २१ गते भएको प्रतिनिधिसभा सदस्य निर्वाचनको सम्पूर्ण मतपरिणाम सार्वजनिक भइसकेको छ । प्रत्यक्षतर्फको १ सय ६५ सिट र समानुपातिक तर्फको पनि अन्तिम मतपरिणाम आइसकेको छ ।

मतपरिणाम सार्वजनिक भएसँगै अब नयाँ सरकार कहिलेसम्म बनिसक्ला भन्ने आम चासो देखिएको छ तर सरकार गठनको प्रक्रिया सुरु हुनुअघि अझै पूरा गर्नुपर्ने केही कानुनी तथा प्राविधिक प्रक्रिया बाँकी रहेकोले चैतको दोस्रो हप्तासम्ममा नयाँ सरकार गठन हुन सक्ने आँकलन गरिएको छ । 

प्रतिनिधिसभाको प्रत्यक्षतर्फका १६५ सिट मध्ये राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले १२५ सिट जितेको छ भने समानुपातिकतर्फ पनि सबैभन्दा धैरै ५१ लाख ३९ हजार २ सय ३५ मत प्राप्त गरेको छ ।

समानुपातिक मत गणना सम्पन्न भएसँगै निर्वाचन आयोगले समानुपातिकतर्फ दलहरूले प्राप्त गर्ने सिट संख्या निर्धारणको प्रक्रिया सुरु गरेको छ । आयोगले दलहरूले पाएको मतका आधारमा अन्तिम सिट संख्या निर्धारण गर्नेछ । सोही आधारमा आयोगले सम्बन्धित राजनीतिक दलहरूलाई समानुपातिकतर्फ बन्दसूचीमा रहेको उम्मेदवारहरूको नामावली उपलब्ध गराउन सूचना दिनेछ । उक्त सूचनापछि राजनीतिक दलहरूले बुझाएको बन्द सूचीबाट महिला, दलित, जनजाति, मधेसी, खस आर्यलगायत विभिन्न समुदायको सहभागिता संविधानअनुसार सुनिश्चित गरी प्रतिनिधिसभा सदस्यहरू छनोट हुनेछन् ।

निर्वाचन आयोगका सहायक प्रवक्ता कुलबहादुर जिसीले सम्बन्धित निर्वाचन क्षेत्रबाट सबै विवरण प्राप्त भएपछि जम्मा सदर मत, बदर मत र जम्मा खसेको मत यकिन गरी कानुन बमोजिम ३ प्रतिशतभन्दा बढी मत ल्याउने दललाई एकातिर र त्योभन्दा कम ल्याउनेलाई अर्कोतिर गरी थ्रेसहोल्ड नकटाउने दल सिट बाँडफाँडमा सामेल नगरिने र तीन प्रतिशत कटाउने दलहरूको भोटलाई शतप्रतिशत मानेर सिट बाँडफाँडको गृहकार्य गरिने बताए।

उनी भन्छन्, “यी सबै प्रक्रिया पूरा गरी निर्वाचन आयोगले प्रतिनिधिसभा निर्वाचनको पूर्ण विवरणसहितको प्रतिवेदन तयार पारेर राष्ट्रपतिसमक्ष बुझाएपछि मात्रै निर्वाचनको सम्पूर्ण प्रक्रिया सम्पन्न हुन्छ ।”

त्यसपछि सुरु हुन्छ नयाँ सरकार गठनको प्रक्रिया । त्यसका लागि अझै पूरा गर्नुपर्ने केही कानुनी तथा प्राविधिक प्रक्रिया बाँकी रहेको निर्वाचन आयोगले जनाएको छ ।निर्वाचन आयोगले प्रतिनिधिसभा निर्वाचन २०८२ को अन्तिम परिणाम घोषणा गरेपछि नयाँ सरकार गठनको संवैधानिक प्रक्रिया तत्काल सुरु हुन्छ । यदि कुनै एक दलले प्रतिनिधिसभामा स्पष्ट बहुमत प्राप्त गरेको छ भने प्रक्रिया अत्यन्त सरल र छोटो हुने नेपालको संविधान २०७२ को धारा ७६ ले स्पष्ट रूपमा निर्धारण गरेको छ ।

नेपालको संविधानको धारा ७६ ९१०अनुसार प्रतिनिधिसभामा बहुमतप्राप्त दलको संसदीय दलको नेतालाई राष्ट्रपतिले प्रधानमन्त्री नियुक्त गर्ने व्यवस्था छ । सरकार गठनको प्रक्रियामा बहुमत प्राप्त दलले संसदीय दलको नेता चयन गरेपछि राष्ट्रपतिले उसैलाई प्रधानमन्त्री नियुक्त गर्ने संवैधानिक प्रक्रिया अघि बढ्नेछ । समानुपातिक तर्फको मतगणनाको समपूर्ण विवरण प्राप्त भएपछि आयोगले “दलहरूले पाएको मतका आधारमा अन्तिम सिट संख्या निर्धारण गरी प्रतिनिधिसभा निर्वाचनको पूर्ण विवरणसहितको प्रतिवेदन तयार पारेर राष्ट्रपतिसमक्ष बुझाउन लगभग चैतको पहिलो सातासम्मको समय लाग्ने निर्वाचन आयोगका सहायक प्रवक्ता कुल बहादुर बताउनुहुन्छ ।”

संविधानको धारा ७६ को उपधारा ९८० ले प्रधानमन्त्री नियुक्तिको प्रक्रिया अन्तिम परिणाम घोषणा भएको मितिबाट ३५ दिनभित्र पूरा गर्नुपर्ने स्पष्ट व्यवस्था गरेको छ । तर व्यवहारमा भने यो प्रक्रियाका लागि ३५ दिन कुर्नुपर्दैन । निर्वाचन आयोगले नतिजा घोषणा गरेपछि प्रतिनिधिसभामा दुई तिहाइ बहुमत नजिक पुगेको राष्ट्रिय स्वतन्त्र पार्टीको संसदीय दलका नेतालाई राष्ट्रपतिले प्रधानमन्त्री नियुक्त गर्नुहुनेछ । 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

यो पनि हेर्नुहोस्
यो पनि हेर्नुहोस्