एमालेको चुनावी घोषणापत्र : विज्ञान पार्क, प्रविधि पार्क, नवप्रवर्तन केन्द्र स्थापना


काठमाडौं : नेकपा एमालेले आफ्नो चुनावी घोषणापत्रमा सबै किशोरीलाई निःशुल्क प्याड दिने घोषणा गरेको छ ।

यसैगरी, शिक्षकको मर्यादा राख्दै सामाजिक सुरक्षामा लैजाने र विद्यालय शिक्षा सुधारका लागि पनि विशेष योजना प्रस्तुत गरिएको छ।

घोषणापत्रमा एमालेले सामुदायिक विद्यालयका शैक्षिक पूर्वाधारमा राज्यको लगानी बढाउने, उद्यमशिलता, सामाजिक उत्तरदायित्व, नवप्रवर्तनशील सोच र राष्ट्रिय सामर्थ्य अभिवृद्धिमा योगदान गर्नसक्ने जनशक्ति निर्माण गर्ने प्रतिबद्धता जनाएको छ।

विद्यालय शिक्षालाई क्रमशः अनिवार्य र निःशुल्क बनाउने र पूर्व-प्राथमिक शिक्षासहित सबै बालबालिकाको शिक्षामा समान पहुँच सुनिश्चित गर्ने घोषणा पनि गरिएको छ।

शिक्षा प्रणालीलाई भर्ना र परीक्षा केन्द्रित मात्र नराखी राष्ट्रप्रेम, उद्यमशिलता, सामाजिक उत्तरदायित्व, नवप्रवर्तनशील सोच र राष्ट्रिय सामर्थ्य अभिवृद्धिमा योगदान गर्नसक्ने जनशक्ति निर्माण गर्ने दिशामा लैजाने योजना प्रस्तुत गरिएको छ।

व्यावहारिक, नैतिक, राष्ट्रभक्तिमूलक र डिजिटल मैत्री पाठ्यक्रम र शैक्षिक सामग्री विकास गर्न पनि एमालेले प्रतिबद्धता जनाएको छ ।

'शिक्षाको गुणस्तर सुधारका लागि शिक्षकको क्षमता, वृत्तिविकास र मर्यादा अभिवृद्धि गर्दै उच्च योग्यताका उत्कृष्ट जनशक्तिलाई शिक्षण पेसामा आकर्षित गर्नेछौं,' घोषणापत्रमा उल्लेख छ ।

विद्यालय शिक्षा ऐन र उच्च शिक्षासम्बन्धी ऐन जारी गर्ने, विश्वविद्यालयमा प्राज्ञिक स्वायत्तता कायम गर्ने र विज्ञान, प्रविधि, अनुसन्धान र नवप्रवर्तनका लागि सहकार्यमा विज्ञान पार्क, प्रविधि पार्क, नवप्रवर्तन केन्द्र र ग्रामीण नवप्रवर्तनशाला स्थापना गर्ने पनि घोषणापत्रमा उल्लेख गरिएको छ।

युवालाई स्वदेशमै रोजगारीका अवसर सिर्जना गर्ने उद्देश्यका साथ, शिक्षा-अनुसन्धान-उद्यमशिलताको सम्बन्ध सुदृढ गर्ने र नेपालको मौलिक शिक्षाको पुनर्जागरण गर्दै नेपाललाई शान्ति अध्ययन, योग, आयुर्वेद, ध्यान, मानसिक स्वास्थ्य र पूर्वीय दर्शनको अन्तर्राष्ट्रिय केन्द्रका रूपमा विकास गर्ने पनि एमालेको योजना रहेको छ।

पढ्दै कमाउँदै, कमाउँदै पढ्दै कार्यक्रममार्फत उच्च शिक्षाका लागि विदेश जाने प्रवृत्ति घटाउने र विद्यार्थी संख्या न्यून भएका सामुदायिक विद्यालयहरू गाभ्ने, शिक्षक दरबन्दी मिलान गर्ने, आवासीय व्यवस्था गर्ने तथा छात्रवृत्ति र सहुलियत कार्यक्रमलाई एकीकृत र प्रभावकारी बनाउने योजना पनि घोषणापत्रमा समावेश गरिएको छ।

नेकपा एमाले, चुनावी घोषणापत्र, किशोरी प्याड, शिक्षा सुधार, शिक्षा नीति, शिक्षक मर्यादा, युवा रोजगारी

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

यो पनि हेर्नुहोस्
यो पनि हेर्नुहोस्