आर्थिक लाभ नदिने ‘टुक्रे’ आयोजना मात्र रोकिएको हो : अर्थमन्त्री खनाल

काठमाडौँ : अर्थमन्त्री रामेश्वरप्रसाद खनालले विकास निर्माण आयोजना स्थगनबारे स्पष्ट गर्दै तयारी नभएका र तत्काल आर्थिक लाभ नदिने ‘खुद्रे तथा टुक्रे’ आयोजना मात्र रोकिएको जानकारी दिएका छन् ।

राष्ट्रिय सभाको बैठकमा सांसद भुवनबहादुर सुनुवारको प्रश्नको जवाफ दिँदै मन्त्री खनालले बजेटमा दबाब, प्राथमिकता पुनर्संरचना र आन्दोलनबाट क्षतिग्रस्त संरचनाको पुनर्निर्माण, सार्वजनिक सेवा सञ्चालन, निर्वाचन तयारी, चालु आयोजनामा दायित्व भुक्तानी, आर्थिक पुनरुत्थान तथा घाइते–सहिद परिवारलाई राहत उपलब्ध गराउने जिम्मेवारीका कारण यस्तो निर्णय लिनुपरेको उल्लेख गरे ।

उनले डिजाइन, स्टिमेट र टेन्डर प्रक्रियामा गइसकेका आयोजना क्रमशः अघि बढिरहेको र धेरै आयोजनाको रकम फुकुवा भइसकेको जानकारी पनि दिए । मन्त्रिपरिषद्को २०८२ असोज ५ को निर्णय अनुसार तयारी नभएका, खरिद प्रक्रियामा नपुगेका र तत्काल प्रतिफल नदिने आयोजना मात्र स्थगन गर्ने निर्णय गरिएको थियो ।

त्यसै गरी, मन्त्री खनालले दलित अधिकारसम्बन्धी विधेयक एक महिनाभित्र मन्त्रिपरिषद्मा लैजाने तयारी भइरहेको जानकारी दिए । २०८२ पुस २८ गते मन्त्रिपरिषद्को सैद्धान्तिक स्वीकृति प्राप्त उक्त विधेयक सङ्घीय संसद्मा आगामी अधिवेशनमा पेस गर्ने लक्ष्य रहेको छ। प्रारम्भिक मौखिक परामर्शपछि नेपाल कानुन आयोगसँग आज औपचारिक पत्राचार गरिएको छ।

मन्त्री खनालले आगामी २१ दिनभित्र मस्यौदा तयार गर्ने, करिब सात दिन सार्वजनिक परामर्श गर्ने र एक महिनाभित्र मन्त्रिपरिषद्मा पेस गर्ने तयारी रहेको उल्लेख गर्दै यो विधेयक सरकारको कार्य अवधि भित्र निष्कर्षमा पुर्‍याउने लक्ष्य रहेको बताए।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

यो पनि हेर्नुहोस्