काठमाडौं उपत्यकाको खोलामा बढ्यो बाढी सर्तक रहन विभागकाे आग्रह, बाहिरी जिल्लाको के छ अवस्था ?

काठमाडौं । शुक्रबार रातिदेखि परेको निरन्तरको वर्षाका कारण उपत्यकाका खोला–नदीको जलसतह बढेको छ । वर्षासँगै बागमती नदी र यसका सहायक नदीहरूमा जलस्तर बढ्दै गएसँगै बाढीको जोखिम बढेको छ ।

ललितपुरको खोकना जलमापन केन्द्रमा बागमती नदीको सतर्कता तह ३.५ मिटर रहेकोमा जलस्तर ३.५८ मिटर पुगेको छ । त्यस्तै, मनोहरा खोलाको बालकुमारी केन्द्रमा सतर्कता तह ४.४ मिटर रहेकोमा सो तह पार भएको छ । 

वाग्मती, हनुमन्ते, मनोहरा, धोविखोला, विष्णुमती, नख्खु, बल्खु खोलालगायत नदी तथा खोलामा जलसतह बढेको हो । अहिलेकै अवस्थामा निरन्तर पानी परिरहे साँझसम्म बागमती नदी, मनोहरा खोला, नख्खु खोलासँगै अन्य खोलामा पानी भरेर खोला किनारसम्मै पानीको भेल बग्न सक्ने अवस्था सिर्जना भएको छ ।

खोलाको बाढी किनारको सडकसम्म आउने र बस्तीमा डुबान समेत हुनसक्ने देखिएकाले सडक किनारबाट यात्रा नगर्न जल तथा मौसम विज्ञान विभागले आग्रह गरेको छ ।

हाल विशेष गरी गण्डकी प्रदेशको पुर्वि भू–भाग देखि कोशी प्रदेश सम्म नै अधिकांश स्थानहरूमा मेघगर्जनरचट्याङसहित वर्षा भैरहेको विभागले जनाएको छ ।

सुनसरी, उदयपुर, सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्सा, सिन्धुली, दोलखा, रामेछाप, सिन्धुपाल्चोक, काभ्रेपलान्चोक, काठमाडौँ, ललितपुर, भक्तपुर, मकवानपुर, चितवन र आसपासका जिल्लाहरुमा अति उच्च जोखिम को सम्भावना रहने पूर्वानुमान गरिएको छ ।

बाहिरी जिल्लामा कुन कुन खोलामा बढ्यो जलसतह ?

वर्षाको मात्रा बढ्दै गएसँगै पर्साको वीरगन्ज, रौतहटको गौर, बाराको कलैया र रौतहटको महेशपुरमा रहेका जलमापन केन्द्रमा वर्षाले सतर्कता तह पार गरेको छ।

यी जलमापन केन्द्र आसपास र नारायणी, बागमती र लालबकैया नदी किनारका बासिन्दालाई सावधान रहन तथा डुबान हुनसक्ने क्षेत्रबाट उच्च स्थानमा जान जल तथा मौसम विज्ञान विभागले अनुरोध गरेको छ।

गए रातिदेखि परेको अविरल वर्षाका कारण रौतहटको बागमती र लालबकैया नदीमा पानीको सतह बढ्दै गएपछि अस्थायी तथा नदी तटिय क्षेत्रमा बसोबास गर्ने बस्तीहरूमा बाढीको जोखिम बढेको छ।

सशस्त्र प्रहरी बल नेपाल नम्बर ११ गण, रौतहट मातहतका सन्तपुर, दुधियाभार, बिजयपुर र समनपुर लगायत सम्पूर्ण बेस क्याम्प, तथा बोर्डर आउट पोष्टहरूले जोखिमयुक्त बस्तीहरूमा सचेतनामूलक सन्देशसहित माइकिङ गर्दै बाढीको जोखिम हुन सक्ने स्थानका बासिन्दालाई सुरक्षित स्थानमा जान आग्रह गरिरहेको छ।

जिल्ला विपद् व्यवस्थापनको निर्देशन अनुसार हिजो असोज १७ गते वृन्दावन नगरपालिका–१ स्थित भोटियाघाट क्षेत्रको बागमती नदी किनारमा बसोबास गर्ने १२८ घरधुरीमध्ये १०१ घरधुरीलाई तत्काल सुरक्षित स्थानमा स्थानान्तरण गरिएको सशस्त्र प्रहरी रौतहटका प्रमुख एसपी राम हरि अधिकारीले जानकारी दिए।

बाढीबाट क्षति हुन नदिन जिल्ला प्रशासन कार्यालय, सशस्त्र प्रहरी, नेपाल प्रहरी, नेपाली सेना, स्थानीय तह र स्थानीय बासिन्दाबीच समन्वय गरी उद्धारका लागि आवश्यक डुङ्गा, डोरी, जीवनरक्षक ज्याकेट लगायतका उपकरणहरू तयारी अवस्थामा राखिएको छ।

विशेष गरी बागमती र लालबकैया नदी आसपासका बृन्दावन नगरपालिकाको भोटियाघाट, कटहरिया, मौलापुर, राजपुर, गुजरा, इश्नाथ, देवाही गोनाही र गरुडा क्षेत्रलाई उच्च जोखिम क्षेत्रका रूपमा पहिचान गरेर सतर्कता अपनाउँदै सुरक्षा निकाय राहत र उद्धारका लागि परिचालित भएका छन्।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

यो पनि हेर्नुहोस्
यो पनि हेर्नुहोस्