सात वाणिज्य बैंकको वित्तीय विवरण सार्वजनिक, कुन बैँक अवस्था कस्तो ?

काठमाडौं । गत आर्थिक वर्ष २०८१/८२ को वित्तीय विवरण हालसम्म ७ वटा वाणिज्य बैंकले सार्वजनिक गरेका छन् ।
माछापुच्छ्रे बैंक, कुमारी बैंक, सिद्धार्थ बैंक, सिटिजन्स बैंक, कृषि विकास बैंक, एभरेष्ट बैंक र सानिमा बैंकले गत आवको वित्तीय विवरण प्रकाशित गरेका हुन् ।
कुनकाे अवस्था कस्ताे छ ?
माछापुच्छ्रे बैंक
गत आर्थिक वर्षको चौथो त्रैमाससम्म माछापुच्छ्रे बैंक लिमिटेडले २ अर्ब १ करोड १४ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ९२.४५ प्रतिशत बढी हो । अघिल्लो आवमा यस बैंकले १ अर्ब ४ करोड ५१ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।
बैंकको प्रतिसेयर आम्दानी पनि बढेर १७ रुपैयाँ ३१ पैसा पुगेको छ । बैंकको वितरणयोग्य मुनाफा १ अर्ब ७ करोड रुपैयाँ रहेको छ भने वितरणयोग्य आम्दानी ९ रुपैयाँ २३ पैसा रहेको छ ।
बैंकको इम्पेरमेन्ट चार्ज १ अर्ब ३९ करोड रुपैयाँबाट घटेर ३५ करोड ३७ लाख रुपैयाँमा सीमित भएको छ । बैंकको खुद ब्याज आम्दानी १५.४१ प्रतिशत बढ्दा खुद फि तथा कमिशन आम्दानी १८.१६ प्रतिशतले बढेको छ । यस्तै, बैंकको प्रतिसेयर नेटवर्थ १६३ रुपैयाँ ८० पैसा रहेको छ ।
बैंकको चुक्ता पुँजी ११ अर्ब ६२ करोड १३ लाख रुपैयाँ रहेको छ भने जगेडा कोषमा ७ अर्ब ४१ करोड रुपैयाँ सञ्चित छ । गत आवमा बैंकले १ खर्ब ८४ अर्ब १७ करोड ६० लाख रुपैयाँ निक्षेप संकलन गर्दा कर्जा लगानी १ खर्ब ४१ अर्ब ६३ करोड ६८ लाख रुपैयाँ कर्जा लगानी गरेको छ । बैंकको खराब कर्जा ३.८३ प्रतिशत छ ।
कुमारी बैंक
कुमारी बैंक लिमिटेडको नाफा २ अर्ब नाघेको छ । आर्थिक वर्ष २०८१/८२ मा बैंकले २ अर्ब ११ करोड रुपैयाँ नाफा कमाएको हो । अघिल्लो वर्ष यस्तो नाफा जम्मा ४६ लाख रुपैयाँ रहेको थियो । यो बैंकको नाफा अघिल्लो वर्षको तुलनामा ४५८२९.०१ प्रतिशतले बढेको छ।
बैंकले इम्पेरिमेन्ट चार्जमा छुट्टयाउनुपर्ने रकम अघिल्लो वर्षको तुलनामा घट्नु यो वर्ष नाफा बढ्नुको मुख्य कारण रहेको देखिएको छ ।
बैंकले खुद ब्याज आम्दानीबापत अघिल्लो वर्ष १० अर्ब ८० करोड आर्जन गरेकोमा यो वर्ष ११ अर्ब ५५ करोड रुपैयाँ पुर्याएको छ । शुल्क तथा ब्याजसम्बन्धी आम्दानी २ अर्ब ९ करोडबाट बढेर २ अर्ब ६७ करोड पुगेको छ ।
बैंकले अघिल्लो वर्ष इम्पेरिमेन्ट चार्जमा ६ अर्ब ८४ करोड छुट्याएकोमा यो वर्ष २ अर्ब ७९ करोड छुट्याएको छ ।
बैंकको निक्षेप यो वर्ष बढेको छ भने कर्जा प्रवाह घटेको देखिन्छ । अघिल्लो वर्षको असार मसान्तमा ३ खर्ब ३३ अर्ब रहेको निक्षेप ३ खर्ब ६४ अर्ब पुगेको छ । कर्जा प्रवाह २ खर्ब ६८ अर्बबाट २ खर्ब ६० अर्बमा झरेको देखिन्छ ।
बैंकको निष्क्रिय कर्जा अनुपात ६.४२ प्रतिशत पुगेको छ । पुँजीकोष अनुपात १२.९८ प्रतिशत रहँदा कस्ट अफ फण्ड ४.७४ प्रतिशत, सीडी अनुपात ७५.७३ प्रतिशत, बेसरेट ६.४४ प्रतिशत, स्प्रेडदर ३.५९ प्रतिशत तथा पुँजी कोषमा प्रतिफल ५.६८ प्रतिशत रहेको छ ।
यो वर्ष नाफामा सुधार भए पनि बैंकले लाभांश बाँड्न भने सक्ने छैन । उठ्न बाँकी ब्याजको रकम बढ्दा बैंकले नियामकीय समायोजनबापत ठुलो रकम छुट्टाउनु परेकोले बैंकको वितरणयोग्य नाफा नकारात्मक अवस्थामा देखिन्छ ।
२६ अर्ब २२ करोड रुपैयाँ चुक्ता पुँजी भएको बैंकसँग अहिले रिजर्भमा १३ अर्ब ८५ करोड रुपैयाँ रहेको छ । यस अनुसार बैंकको नेटवर्थ १४२.४९ रुपैयाँ रहेको देखिन्छ ।
सिद्धार्थ बैंक
सिद्धार्थ बैंकको नाफा १० प्रतिशतले बढेको छ । बैंकले सार्वजनिक गरेको गत आर्थिक वर्षको चौथो त्रैमासिकसम्मको वित्तीय विवरणअनुसार खुद नाफा ३ अर्ब ३९ करोड रुपैयाँ छ ।
अघिल्लो आर्थिक वर्षको सोही अवधिमा यस्तो नाफा ३ अर्ब ८ करोड रुपैयाँ थियो । खुद ब्याज आम्दानी अघिल्लो आर्थिक वर्ष ७ अर्ब ९३ करोड रुपैयाँ रहेकोमा गत अर्थिक वर्ष यो बढेर ८ अर्ब ४३ करोड पुगेको छ ।
नोक्सानी व्यवस्थापनवापतकाे रकम पहिले १ अर्ब ५ करोड रुपैयाँ रहेकोमा गत असार मसान्तसम्म १ अर्ब ३१ करोड रुपैयाँ छ ।
बैंकको नाफासँगै प्रतिसेयर आम्दानी बढेको छ । पहिले २१ रुपैयाँ ८६ पैसा रहेको प्रतिसेयर आम्दानी अहिले २४ रुपैयाँ १० पैसा छ । बैंकको वितरणयोग्य नाफा १ अर्ब ८६ करोड रुपैयाँ छ । प्रतिसेयर १३ रुपैयाँ २२ पैसा वितरणयोग्य नाफा हो ।
बैंकको प्रतिसेयर नेटवर्थ २१९ रुपैयाँ ९७ पैसा छ । बैंकको चुक्ता पूँजी १४ अर्ब रुपैयाँ छ ।
सिटिजन्स बैंक
सिटिजन्स बैंकले गत आर्थिक वर्ष २०८१/८२ को चौथो त्रैमाससम्ममा बैंकले १ अर्ब २९ करोड ३३ लाख रुपैयाँ नाफा आर्जन गरेको छ । अघिल्लो आर्थिक वर्ष २०८०/८१ मा बैंकले १ अर्ब ३२ करोड ७ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो । बैंकको यो नाफा अघिल्लो वर्षको तुलनामा २.०८ प्रतिशतले घटेको हो ।
समीक्षा अवधिमा बैंकको वितरणयोग्य मुनाफा ७७ करोड ५४ लाख रुपैयाँ रहेको छ । जसअनुसार बैंकले ५.२५ प्रतिशत लाभांश बाँड्ने क्षमत राख्दछ ।
चौथो त्रैमाससम्ममा बैंकको सञ्चालन मुनाफा २ अर्ब ९ लाख रुपैयाँमा भएको छ । अघिल्लो वर्ष सञ्चालन २ अर्ब ४ करोड ८५ लाख रुपैयाँ थियो। तुलनात्मक हिसाबले बैंकको सञ्चालन मुनाफा पनि २.३२ प्रतिशतले घटेको हो ।
गत आर्थिक वर्षको चौथो त्रैमाससम्म बैंकले ६ अर्ब ३६ करोड ४९ लाख रुपैयाँ ब्याज आम्दानी गरेको छ । अघिल्लो वर्ष यही अवधिसम्म बैंकले ५ अर्ब ७२ करोड ३८ लाख रुपैयाँ ब्याज आम्दानी गरेको थियो ।
चुक्तापुँजी १४ अर्ब ७६ करोड ९० लाख रुपैयाँ रहेको बैंकको रेटिन्ड अर्निङ ७७ करोड ५४ लाख रुपैयाँले ऋणात्मक रहेको छ । बैंकको रिजर्भमा ७ अर्ब ४० करोड ९४ लाख रुपैयाँ रहेको छ ।
समीक्षा अवधिमा बैंकले २ खर्ब ११ अर्ब ५० करोड रुपैयाँ निक्षेप संकलन गरी १ खर्ब ६८ अर्ब ९५ करोड रुपैयाँ कर्जा लगानी गरेको छ । अघिल्लो वर्ष बैंकले २ खर्ब ४३ अर्ब ८० करोड रुपैयाँ निक्षेप संकलन गरी १ खर्ब ५३ अर्ब ३४ करोड रुपैयाँ कर्जा लगानी गरेको थियो ।
त्यसैगरी, बैंकको खराब कर्जा अनुपात (एनपीएल) बढेर ४.९४ प्रतिशतमा पुगेको छ । अघिल्लो वर्ष यही अवधिसम्म बैंकको एनपीएल ४.१० प्रतिशत थियो । बैंकको प्रतिसेयर आम्दानी (ईपीएस) घटेर ८.७६ रुपैयाँ छ । बैंकको पीई रेसियो २६.०६ गुणा रहेको छ भने प्रतिसेयर नेटवर्थ १५५.४२ रुपैयाँ रहेको छ ।
कृषि विकास बैंक
कृषि विकास बैंक लिमिटेडले आर्थिक वर्ष २०८१/८२ को चौथो त्रैमासिकसम्ममा अहिलेसम्मकै सबैभन्दा बढी नाफा आर्जन गर्दै उत्कृष्ट प्रदर्शन देखाएको छ।
वित्तीय विवरण अनुसार गत आवको चौथो त्रैमासमा बैंकले ४ अर्ब १५ करोड ४४ लाख खुद मुनाफा गर्न सफल भएको छ । अघिल्लो आर्थिक वर्ष बैंकले २ अर्ब ८९ करोड ७४ लाख खुद मुनाफा आर्जन गरेको थियो। जुन गत आवको तुलनामा ४३.३८ प्रतिशतले बढी हो। यो नाफा कृषि विकास बैंकको आफ्नो इतिहासमै अहिलेसम्मकै बढी हो।
निष्क्रिय कर्जा रकम उठाउन बैंक व्यवस्थापन सफल देखिएसँगै बैंकको इम्पेयरमेन्ट चार्ज घटेको देखिन्छ भने प्रोभिजन राईट ब्याक हुँदा बढेको नाफाको प्रभावले लाभांश क्षमता बढाएको छ ।
त्यस्तै, बैंकको संचालन मुनाफा पनि अघिल्लो बर्षको तुलनामा उल्लेख्य बढेको छ। सञ्चालन मुनाफामा उल्लेख्य वृद्धि हुँदा खुद नाफा पनि बढेको हो । अघिल्लो आवमा ९ अर्ब ७६ करोड रहेको सञ्चालन मुनाफा यो वर्ष बढेर ११ अर्ब ८९ करोड पुगेको छ भने खुद व्याज आम्दानी ९ अर्ब ८२ करोड रहेको छ ।
बैंकको वितरणयोग्य मुनाफा २ अर्ब ८७ करोड पुगेको छ । जस अनुसार बैंकले हालसम्मकै उच्च लाभांश क्षमता राख्दछ । यस अवधिमा बैंकको लाभांश क्षमता १८.५३ प्रतिशत पुगेको छ।
समीक्षा अवधिमा बैंकको खराब कर्जा अनुपात (एनपीएल) घटेर ३.२६ प्रतिशतमा झरेको छ। अघिल्लो वर्ष यही अवधिसम्म बैंकको एनपीएल ३.९१ प्रतिशत थियो।
बैंकले गत आवमा २ खर्ब ९३ अर्ब ५७ करोड निक्षेप सङ्कलन गर्न सफल भएको छ भने २ खर्ब १३ अर्ब २ करोड कर्जा लगानी गरेको छ । समिक्षा अवधिसम्ममा बैंकको कुल सम्पत्ति ३ खर्ब ६२ अर्ब ५० करोड पुगेको छ ।
बैंकको प्रतिशेयर आम्दानी १८ रुपैयाँ ५६ पैसाबाट बढेर २७ रुपैयाँ ६३ पैसा पुगेको छ । प्रतिशेयर नेटवर्थ २४१ रुपैयाँ ४ पैसा रहेको बैंकको स्प्रेडडर ३.९६ प्रतिशत छ ।
एभरेष्ट बैंक
एभरेष्ट बैंकको खुद नाफा ३२.७ प्रतिशत बढेको छ । बैंकले सार्वजनिक गरेको गत आर्थिक वर्ष २०८१/८२ को चाैथो त्रैमासिक अपरिस्कृत वित्तीय विवरणअनुसार ४ अर्ब ९१ करोड रुपैयाँ खुद नाफा कमाएको छ । अघिल्लो आवको सोही अवधिमा बैंकले ३ अर्ब ७० करोड ३२ लाख २५ हजार रुपैयाँ खुद नाफा गरेको थियो ।
बैंकको वितरणयोग्य नाफा ५० प्रतिशत बढेको छ । गत आवमा बैंकको यस्तो नाफा ४ अर्ब ९५ करोड ४४ लाख रुपैयाँ रहेको छ ।
बैंकले सार्वजनिक गरेको गत आवको वित्तीय विवरण अनुसार बैंकको लाभांश क्षमता ३८.२७ प्रतिशत देखिन्छ । अघिल्लो वर्ष बैंकले १५.५३ प्रतिशत लाभांश बाँडेको थियो ।
त्यस्तै, गत आवसम्म बैंकको खराब कर्जा ०.३८ प्रतिशत रहेको छ । यस अवधिमा बैंकको खुद ब्याज आम्दानी १९.३६ प्रतिशत बढेर ९ अर्ब १२ करोड ९३ लाख ८८ हजार रुपैयाँ गरेको छ । प्रतिशेयर आम्दानी गत वर्ष बढेर ३७.९९ रुपैयाँ हुँदा प्रतिशेयर नेटवर्थ २४७.३९ रुपैयाँ छ ।
बैंकको चुक्ता पुँजी १२ अर्ब ९४ करोड ४६ लाख ९४ हजार रुपैयाँ रहेको छ भने जगेडा कोषमा १३ अर्ब ८८ करोड ५९ लाख रुपैयाँ रहेको छ । यस अवधिमा बैंकले २ खर्ब ९८ अर्ब ८१ करोड ८४ लाख रुपैयाँ निक्षेप संकलन गर्दा २ खर्ब १३ अर्ब ६२ करोड ३५ लाख रुपैयाँ कर्जा लगानी गरेको छ ।
सानिमा बैंक
सानिमा बैंक लिमिटेडकाे गत आर्थिक वर्षको चौथो त्रैमासिकसम्ममा ७.२५ प्रतिशत नाफा बढेको छ ।
बैंकले सार्वजनिक गरेको वित्तीय विवरणअनुसार बैंकको वितरणयोग्य नाफा ९२.१२ प्रतिशत बढेको छ । उक्त नाफा बढेर २ अर्ब ७८ करोड ७ लाख रुपैयाँ पुगेको छ । बैंकले २०.४७ प्रतिशत लाभांश वितरण गर्न सक्ने क्षमता देखिन्छ ।
त्यसैगरी बैंकले अघिल्लो वर्ष ६ अर्ब १८ करोड रुपैयाँ खुद ब्याज आम्दानी गरेकोमा गत आवमा बढेर ६ अर्ब ३५ करोड रुपैयाँ पुगेको छ भने कुल सञ्चालन आम्दानी पनि ७ अर्ब ९२ करोड रुपैयाँबाट बढेर ८ अर्ब ६० करोड रुपैयाँ पुगेको छ ।
समीक्षा अवधिमा बैंकको सञ्चालन नाफा पनि ३ अर्ब ४७ करोड रुपैयाँबाट वृद्धि भएर ३ अर्ब ५७ करोड रुपैयाँ पुगेको छ । यससँगै प्रतिसेयर आम्दानी (ईपीएस) पनि १७.६५ रुपैयाँबाट बढेर १८.९३ रुपैयाँ पुगेको छ ।
बैंकको चुक्ता पूँजी १३ अर्ब ५८ करोड रुपैयाँ रहेको छ । जगेडा कोषमा २ अर्ब ९१ करोड रुपैयाँ सञ्चिति रहेको बैंकको रिजर्भ कोषमा ६ अर्ब ६० करोड रुपैयाँ रहेको छ । बैंकको प्रतिसेयर नेटवर्थ १६८.८३ रुपैयाँ रहेको छ ।
बैंकले २ अर्ब ७ करोड रुपैयाँ सापटी लिएर १ खर्ब ७६ अर्ब ३९ करोड रुपैयाँ कर्जा प्रवाह गरी २ खर्ब २३ अर्ब ४१ करोड रुपैयाँ निक्षेप संकलन गरेको छ । अघिल्लो वर्ष १.७२ प्रतिशतमा रहेको खराब कर्जा (एनपीएल) बढेर ३.०१ प्रतिशत पुगेको छ । यो अघिल्लो बर्षको तुलनामा ७५ प्रतिशत बढी हो ।