अनलाइन बैंकिङ र डिजिटल वालेटमार्फत ठगी हुने घटना बढ्दै : ९२ वटा मुद्दा दर्ता

नेपालमा अनलाइन ठगीका घटना बढ्दै गएका छन्, जहाँ सबैभन्दा बढी अनलाइन बैंकिङ र डिजिटल वालेटमार्फत ठगी हुने गरेको तथ्यांकले देखाएको छ। पछिल्लो एक वर्षमा मात्र अनलाइन बैंकिङबाट करिब ११ करोड ५४ लाख रुपैयाँभन्दा बढी रकम सर्वसाधारणबाट ठगी भएको प्रहरीले जनाएको छ।
अनलाइन बैंकिङ ठगीका ९२ वटा मुद्दा दर्ता भइसकेका छन्, जसमा ६४ जना स्वदेशी र विदेशी नागरिक पक्राउ परेका छन्। यस्तै, सामाजिक सञ्जालमा आधारित ठगीका १५९ मुद्दा दर्ता भएका छन्, जसबाट ६ करोड १६ लाखभन्दा बढी रकम ठगी भएको अनुमान छ।
अनलाइन किनमेल (सपिङ) सम्बन्धी १३७ मुद्दा दर्ता भएका छन् र ठगी रकम १ करोड ११ लाखभन्दा बढी रहेको छ। वालेटमार्फत ठगीका ७४ मुद्दा दर्ता भएका छन्, जसबाट ९९ लाखभन्दा बढी रकम हानी भएको देखिएको छ।
लटरी ठगीमा ४८ मुद्दा दर्ता भएका छन्, जहाँ करिब १ करोड ७१ लाख रुपैयाँ ठगी भएको छ। पहिचान चोरीका ६ मुद्दा र स्प्याम सम्बन्धी २ मुद्दा पनि दर्ता भएका छन्। फिसिङसम्बन्धी ९ मुद्दा भए पनि अहिलेसम्म कसैलाई पक्राउ गरिएको छैन।
अन्य विभिन्न प्रकारका ठगीका १३२ मुद्दा दर्ता भएका छन्, जसमा ४४ जना पक्राउ परेका छन् र ठगी रकम ६१ करोडभन्दा बढी छ। प्रहरीले अनलाइन ठगी रोक्नका लागि कडाइ गर्दै अनुसन्धान र नियन्त्रणमा विशेष ध्यान दिइरहेको छ। सर्वसाधारणलाई अनलाइन कारोबारमा सावधानी अपनाउन र अनियमितता भएमा तुरुन्त प्रहरीलाई खबर गर्न आग्रह गरिएको छ।
यसैबीच, डिजिटल भुक्तानी र अनलाइन लेनदेनका माध्यममा हुने ठगीका नयाँ प्रविधि र तरिका विस्तार हुँदै गएकाले प्रयोगकर्ताले थप सतर्कता अपनाउनुपर्ने आवश्यकतालाई प्रहरीले जोड दिएको छ।