चौथो चरणको क्यान्सरको उपचारमा एकरुपता ल्याउन प्रोटोकल बनाइने

काठमाडौं । सर्जिकल अन्कोलोजी सोसाइटी अफ नेपालले चौथो चरणको क्यान्सर उपचारमा एकरुपता ल्याउन प्रोटोकल बनाउने भएको छ । राजधानीमा शनिबार भएको ‘पेरिटोनियल सर्फेस मालिग्नासिस’को प्रथम हिमालयन अन्तर्राष्ट्रिय सम्मेलनले अस्पतालैपिच्छे फरकफरक उपचार भइरहेकाले त्यसमा एकरुपता ल्याउन प्रोटोकल बनाउने घोषणा गरेको हो ।
नेपालमा अहिले चौथो चरणमा पुगेका पेटसम्बन्धी क्यान्सर बिरामीहरूको उपचारमा एकरुपता छैन । विश्वमै नयाँनयाँ प्रविधि आइसकेकाले नेपालमा पनि ती प्रविधिको प्रयोग गरी उपचारमा एकरुपता ल्याउन प्रोटोकल बनाउने निर्णय भएको सम्मेलनमा संयोजक डा. उत्सवमान श्रेष्ठले जानकारी दिए ।
उनका अनुसार सम्मेलनले सर्वसाधारण र बिरामीलाई क्यान्सरसम्बन्धी जनचेतना फैलाए जसरी चिकित्सक तथा स्वास्थ्यकर्मीहरुलाई पनि क्यान्सर उपचारमा विकास भएर प्रयोगमा आइरहेका नयाँ नयाँ प्रविधिबारे तालिम वा अभिमुखीकरण दिई नवीकृत गर्नुपर्नेमा जोड दिएको छ ।
सम्मेलनले चौथो स्टेजमा पुगेका पेटसम्बन्धी क्यान्सर बिरामीहरुको उपचारमा हाइपेक प्रविधिको प्रयोगमा जोड दिएको संयोजक श्रेष्ठले जानकारी दिए । उनका अनुसार अन्य उपचार विधिभन्दा हाइपेक प्रविधिले बिरामीको अप्रेसन गर्दागर्दा किमोथेरापी गर्न मिल्ने र सबै प्रोटोकल मिलाएर यसबाट उपचार गर्दा बिरामीको बाँच्ने आयु सरदर ५१ महिनासम्म बढ्छ ।
हाइपेक प्रविधिको प्रयोग बढाउने उद्देश्यले आयोजित उक्त सम्मेलनमा नेपाल र भारतका गरी ९७ जना चिकित्सक तथा स्वास्थ्यकर्मीहरुको सहभागिता रहेको आयोजक सर्जिकल अन्कोलोजी सोसाइटी नेपालका उपाध्यक्ष डा. कपेन्द्रशेखर अमात्यले जानकारी दिए ।
उनका अनुसार सम्मेलनमा पेटसम्बन्धी चौथो स्टेजका क्यान्सर विरामीहरुको उपचारमा प्रयोग भइरहेको नयाँ प्रविधि हाइपेक र त्यसको प्रयोग र त्यसको उपलब्धिबारे छलफल गर्ने उद्देश्यले सम्मेलन आयोजना गरिएको हो ।
सम्मेलनमा भक्तपुर क्यान्सर अस्पतालका सर्जन डा. दीप लामिछाने अस्पतालमा हाइपेक प्रविधिबाट बिरामीको उपचार गर्दा अपनाएको विधि र त्यसको उपलब्धिबारे प्रस्तुति दिएका थिए । उनले चौथो चरणका क्यान्सर बिरामीहरुको उपचारमा यो प्रविधि अहिलेसम्मकै एउटा विकल्प भएको बताए ।
यस प्रविधिबाट उपचार गर्दा औषधिको प्रभावकारिता उच्च रहेको, बिरामीहरुको बाँच्ने सरदर आयु बढेको पाइएको उनले जानकारी दिए । हाल नेपालमा सरकारी अस्पतालतर्फ भक्तपुर क्यान्सर अस्पतालमा मात्रै हाइपेक प्रविधि रहेको छ ।
त्यस्तै सिभिल अस्पतालका रेडियोलोजिस्ट डा. राजबाबु व्यञ्जनकारले हाइपेक प्रविधिबाट उपचार गर्नुअघि पेटभित्र कहाँ कतिसम्म क्यान्सर फैलिएको छ भन्ने जानकारी पाउन गर्नुपर्ने जाँचबारे जानकारीमूलक प्रस्तुति दिए । उनले अल्ट्रासाउन्ड, सीटी र एमआरआईभन्दा पेट–सीटीस्क्यानबाट पेटको क्यान्सर स्पष्टसँग डाइग्नोस हुने जानकारी दिए ।
सम्मेलनमा भक्तपुर क्यान्सर अस्पतालको एनेस्थेसिया विभागकी प्रमुख देवकी शाक्य गुमाजू, सर्जिकल विभागकी पुण्यराम खर्बुजा, नेपाल क्यान्सर अस्पतालकी प्याथोलोजिस्ट डा. बिनिता गुरुङले पनि प्रस्तुति दिएका थिए ।
त्यस्तै भारतस्थित अल इन्डिया इन्स्टिच्युट अफ मेडिकल साइन्सेस नयाँ दिल्लीको सर्जिकल अन्कोलोजी प्रमुख डा. सुनिल कुमार र बीएलके सुपर स्पेसियालिटी अस्पतालका सर्जन डा. दीप गोयलले हाइपेक प्रविधिबाट क्यान्सर बिरामीको उपचार गर्दा अपनाउनुपर्ने विधि र सचेतताबारे प्रस्तुति दिएका थिए ।
सम्मेलन नेपाल अर्बुदरोग निवारण संस्थाका सल्लाहकार एवं वरिष्ठ होटल व्यवसायी कर्ण शाक्यले उद्घाटन गरेका थिए । उनले ४० वर्षअघि आफ्नी छोरी र श्रीमतीलाई क्यान्सर रोग लाग्दा नेपालमा औंलामा गन्न पुग्ने क्यान्सर चिकित्सक नभएकोमा अहिले नयाँ पुस्ताका धेरै क्यान्सर चिकित्सक देखिएको उल्लेख गरे ।
उनले क्यान्सर रोग ज्यानमारा मात्रै नभई महँगोसमेत भएको भन्दै चिकित्सकहरुलाई प्राविधिक नभई आत्मिक बनेर बिरामीको पीडा बुझेर उपचार गर्न आग्रह गरे ।