चालू आर्थिक वर्षको १० महिनामा ५७ अर्बको प्रत्यक्ष वैदेशिक लगानी प्रतिबद्धता

काठमाडौँ । चालु आर्थिक वर्षको १० महिनामा ५७ अर्ब ६ करोड ७६ लाख ७५ हजार ४०० रपैयाँको प्रत्यक्ष वैदेशिक लगानी प्रतिबद्धता आएको छ । गत साउनदेख वैशाख मसान्तसम्ममा ५७६ वटा योजनामा उक्त लगानी प्रतिबद्धता आएको हो ।

उद्योग विभागका अनुसार सेवामुलक र पर्यटन क्षेत्रमा सबैभन्दा धेरै लगानी प्रतिबद्धता आएको छ । १० महिनाको अवधिमा सेवामुलक क्षेत्रमा २९ अर्ब ९८ करोड ७७ लाख ३० हजार रुपैयाँ बराबरको लगानी प्रतिबद्धता आएको विभागले जनाएको छ । पर्यटन क्षेत्रमा २१ अर्ब ३३ करोड ७५ लाख ९० हजार रुपैयाँ लगानी प्रतिबद्धता आएको छ ।

यस्तै उत्पादन क्षेत्रमा २ अर्ब ९२ करोड २० लाख ५० हजार २०० रुपैयाँ लगानी प्रतिबद्धता आउँदा कृषिमुलक क्षेत्रमा १ अर्ब ४२ करोड ६० लाख रुपैयाँ प्रतिबद्धता आएको उद्योग विभागले जनाएको छ । सुचना प्रविधि क्षेत्रमा १ अर्ब ३१ करोड ८८ लाख ३ हजार २०० रुपैयाँ प्रतिबद्धता आएको छ भने पूर्वाधारमा ५ करोड रुपैयाँ र उर्जा क्षेत्रमा २५ करोड ५ लाख रुपैयाँ लगानी प्रतिबद्धता आएको विभागले जनाएको छ ।

विभागका अनुसार चालु आर्थिक वर्षमा रोयल्टी घट्दा विदेशी लगानीकर्ताले लैजाने लाभांश बढेको छ । यो अवधिमा नेपालबाट विदेशी लगानीकर्ताले लगेको रोयल्टी रकम १ अर्ब ५१ करोड ८५ लाख १९ हजार ४५६ रुपैयाँ रहेको छ । गत आव ८०÷८१ को १० महिनामा उक्त रकम १ अर्ब ९९ करोड ४९ लाख ९५ हजार ३८९ रुपैयाँ थियो ।

चालु आवको १० महिनामा विदेशी लगानीकर्ताले नेपालबाट ९ अर्ब ४९ करोड ९६ लाख ९५ हजार ९८९ रुपेयाँ लाभांश लगेका छन । गत आवमा यस्तो शीर्षकमा ९ अर्ब १ करोड ८४ लाख ४७ हजार ५३६ रुपैयाँ बाहिरिएको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

यो पनि हेर्नुहोस्
यो पनि हेर्नुहोस्