१२ देशका नागरिकलाई अमेरिका यात्रामा पूर्णप्रतिबन्ध लगाउने निर्णयमा हस्ताक्षर

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले १२ देशका नागरिकलाई अमेरिका यात्रामा पूर्णप्रतिबन्ध लगाउने निर्णयमा हस्ताक्षर गरेका छन् । 

सुरक्षा जोखिमलाई कारण देखाउँदै उनले ट्रम्पले अफगानिस्तान, म्यानमार (बर्मा), चाड, गणतन्त्र कंगो, इक्वेटोरियल गिनी, इरिट्रिया, हैटी, इरान, लिबिया, सोमालिया, सुडान र यमनका नागरिकहरुलाई अमेरिका यात्रामा पूर्ण प्रतिबन्ध लगाउने निर्णय गरेका हुन् ।

यसैगरी ट्रम्पले बुरुन्डी, क्युबा, लाओस, सिएरालियोन, टोगो, तुर्कमेनिस्तान र भेनेजुएलाका नागरिकहरूलाई आंशिक रुपमा प्रतिबन्ध लगाउने घोषणामा पनि हस्ताक्षर गरेका छन् ।

यात्रा प्रतिबन्धको निर्णय ९ जुनदेखि लागु हुने फक्स न्युजले जनाएको छ । यद्यपि अमेरिकी ग्रिनकार्ड भएका व्यक्तिहरु, ९ जुनभन्दा अघि नै भिसा लागिसकेका व्यक्तिहरू, केही निश्चित भिसा श्रेणीहरू र अमेरिकी राष्ट्रिय हितमा सेवा गर्ने व्यक्तिहरूलाई भने छुट दिइने समाचारमा उल्लेख छ ।

अमेरिकालाई खतरनाक विदेशी तत्वहरूबाट जोगाउने चुनावी बाचा अनुसार यो निर्णय गरिएको ह्वाइट हाउसका अधिकारीहरुले बताएका छन् ।

अवैध आप्रवासीप्रति कठोर

अमेरिकाको यो निर्णयबाट अफगानिस्तान सबैभन्दा बढी प्रभावित हुनसक्ने सम्भावना छ । किनकि ट्रम्पले भनेजस्तै भिसा अवधि नाघ्ने दर अफगानिस्तानका विद्यार्थीहरुको २९.३ प्रतिशत छ । अफगानिस्तान तालिबानको नियन्त्रणमा छ । तालिबान अन्तर्राष्ट्रिय आतंकवादी संगठनको रूपमा अमेरिकाको सूचिमा छ ।

इरानप्रतिको अमेरिकी बुझाइ पनि आतंकवादलाई सहयोग गर्ने राष्ट्रको रूपमा छ । इरानले अमेरिकी अधिकारीहरूसँग सहयोग आदानप्रदान गर्न अस्वीकार गर्ने गरेको ट्रम्पको आरोप छ । लिबिया, सोमालिया र यमनजस्ता देशहरूमा सुरक्षित कागजात जारी गर्न सक्ने सक्षम सरकार नभएको ट्रम्पको ठहर छ ।

त्यसैले ट्रम्पले भनेका छन्, ‘हामी त्यस्ता कुनै पनि देशबाट खुला आप्रवासन स्वीकार गर्न सक्दैनौं, जहाँबाट अमेरिका प्रवेश गर्न चाहने व्यक्तिहरूको सुरक्षित र भरपर्दो जाँच तथा छानबिन सम्भव हुँदैन ।’

उनले निष्कर्षमा भनेका छन्, ‘त्यसैले म आज एक नयाँ कार्यकारी आदेशमा हस्ताक्षर गर्दैछु, जसअन्तर्गत यमन, सोमालिया, हाइटी, लिबिया र अन्य थुप्रै देशहरूमाथि यात्रा प्रतिबन्ध लगाइनेछ । हामी हाम्रो देशमा हानि पुर्याउन चाहने व्यक्तिहरूलाई प्रवेश गर्न दिनेछैनौं र अमेरिकालाई सुरक्षित राख्न हामीलाई कुनै पनि कुराले रोक्न सक्दैन ।’

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

यो पनि हेर्नुहोस्
यो पनि हेर्नुहोस्