देश दुखेका बेला चुनाव कसले जित्ने भन्दा पनि देश कसले सम्हाल्ने प्रश्न हो: विश्वप्रकाश शर्मा
काठमाडौं । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले देश दुखिरहेका बेला भइरहेको चुनावमा सम्हाल्नसक्ने शक्तिले जित्नुपर्ने आवश्यकता रहेको बताएका छन् । बुधबार जनकपुरधाममा आयोजित कांग्रेसको चुनावी सभालाई सम्बोधन गर्दै उपसभापति शर्माले यस्तो बताएका हुन् ।
‘हामी जान्दछौँ– यो बेला देशलाई दुखिरहेको छ । मधेशलाई दुखिरहेको छ,’ उपसभापति शर्माले भने, ‘यो बेला मूल प्रश्न कसलाई जिताउने भन्ने होइन । यो बेला विषय परिस्थितिमा देशलाई कसले सम्हाल्नसक्छ भन्ने हो ।’
अहिले कसले जित्ने भन्ने प्रश्न नै नरहेको उनले बताए । ‘कसले जित्ने भन्ने होइन, कसले सम्हाल्ने भन्ने हो । चुनाव त जिन्दगीमा कांग्रेसले कैयौँ जित्यो । हाम्रा लागि जित कुनै अनौठो कुरा होइन,’ उनले भने ।
कांग्रेसले जिन्दगीमा कैयौँ चुनाव हारेको बताउँदै उनले हार पनि कुनै अनौठो नभएको उपसभापति शर्माले बताए ।
‘तर, प्रश्न आजको पद्धति हार्ने कि जित्ने भन्ने छ । प्रश्न–समाजको सद्भाव कसले कायम गर्ने भन्ने छ,’ उनले भने ।
मधेशी भूमि नेपालीलाई सर्वाधिक अन्न दिने भूमि रहेको पनि उनले बताए । ‘हामी सबै नेपालीको पेटमा सबैभन्दा बढी अन्न दिने भूमि मधेश हो । हामी मधेशका सबै किसान, किसानको अन्नको एकएक दानाप्रति कृतज्ञता ज्ञापन गर्न मधेश आएको हौँ,’ उनले भने ।