सरकारको निर्णयसँगै आयोगले दोषी देखाएका ओलीसहित कसरी अघि बढ्छ कारबाही

काठमाडौं । गौरीबहादुर कार्की नेतृत्वको जेनजी आन्दोलन सम्बन्धी जाँचबुझ आयोगले दिएको सिफारिस कार्यान्वयन गर्ने निर्णय सरकारले गरेपछि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली लगायतका व्यक्तिहरू कारबाहीको प्रक्रियामा तानिने भएका छन् ।

शुक्रबार शपथपछि बसेको बालेन्द्र शाह नेतृत्वको मन्त्रिपरिषद्को पहिलो बैठकले आयोगको प्रतिवेदन कार्यान्वयनमा लैजाने निर्णय गरेको हो ।

यस निर्णयसँगै जेनजी आन्दोलनमा आयोगले दोषी देखाएका तत्कालीन प्रधानमन्त्री ओली, तत्कालीन गृहमन्त्री रमेश लेखक लगायतविरुद्ध कारबाही अघि बढ्नेछ । आयोगले उनीहरूलाई १० वर्षसम्म कैद सजायको सिफारिस गरेको छ ।

मन्त्रिपरिषद्ले सुरक्षा निकायसँग सम्बन्धित सिफारिसका हकमा भने छुट्टै अध्ययन समिति गठन गर्ने र त्यस समितिको प्रतिवेदनका आधारमा निर्णय लिने जनाएको छ । सरकारका प्रवक्ता सस्मित पोखरेलका अनुसार ओलीलगायत व्यक्तिको हकमा भने आयोगको सिफारिस तत्काल कार्यान्वयन गर्न सम्बन्धित निकायलाई निर्देशन दिइनेछ।

के हुन्छ प्रक्रिया ?

मन्त्रिपरिषद्को निर्णयपछि गृह मन्त्रालयले निर्देशन दिनेछ । त्यसपछि प्रहरीले आयोगको प्रतिवेदनका आधारमा अनुसन्धान सुरु गर्नेछ ।

अनुसन्धानका क्रममा प्रमाण सङ्कलन गरिन्छ र मुद्दा दर्ताका लागि सरकारी वकिलको कार्यालयमा पठाइन्छ । सरकारी वकिलले मुद्दा अदालतमा दायर गर्ने वा नगर्ने भन्ने अन्तिम निर्णय गर्छ । आवश्यक परे महान्यायाधिवक्ताको कार्यालयले पनि निर्देशन दिन सक्छ ।

आयोगले कारबाही सिफारिस गरेका प्रमुख व्यक्ति

तत्कालीन प्रधानमन्त्री: केपी शर्मा ओली

तत्कालीन गृहमन्त्री: रमेश लेखक

तत्कालीन आईजीपी: चन्द्र कुवेर खापुङ

प्रशासनिक तथा सुरक्षा निकाय

गोकर्णमणि दुवाडी (तत्कालीन गृह सचिव)

राजु अर्याल (सशस्त्र प्रहरी महानिरीक्षक)

हुतराज थापा (राष्ट्रिय अनुसन्धान विभाग प्रमुख)

छविराज रिजाल (काठमाडौँका प्रजिअ)

नेपाल प्रहरी

सिद्धिबिक्रम शाह (एआईजी)

ओमबहादुर राना (डीआईजी)

विश्व अधिकारी (एसएसपी)

दीप शम्शेर जबरा (एसएसपी)

ऋषिराम कँडेल (एसपी)

दानबहादुर कार्की (एआईजी)

सशस्त्र प्रहरी बल

नारायणदत्त पौडेल (एआईजी)

सुरेश कुमार श्रेष्ठ (डीआईजी)

जीवन केसी (एसपी)

राष्ट्रिय अनुसन्धान विभाग

कृष्णप्रसाद खनाल (सह–निर्देशक)

रिबेन कुमार गच्छदार (सह–अनुसन्धान निर्देशक)

नेपाली सेना

मनोज बैदवार (सहायक रथी)

दिवाकर खड्का (प्रमुख सेनानी)

गणेश खड्का (प्रमुख सेनानी)

सन्तोष ढुङ्गेल (सेनानी)

अन्य समूह

टीओबी ग्रुप: भीड उक्साउने तथा शान्ति भङ्ग गर्ने गतिविधिमा संलग्न भनिएका मोटरसाइकल समूह, जसलाई फौजदारी संहिताको दफा ३५ अनुसार अनुसन्धान गर्न सिफारिस गरिएको छ।

तर, नेकपा एमाले, नेपाली कांग्रेस लगायतका दलले आयोगको उक्त रिपोर्टमाथि आशंका व्यक्त गर्दै आएका छन् ।