कार्की आयोगको प्रतिवेदन कार्यान्वयनमा लैजाने: यी हुन् बालेन सरकारले गरेका निर्णयहरू

काठमाडाैँ । प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको मन्त्रिपरिषद् बैठकले जेनजी आन्दोलनसम्बन्धी जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयनमा लैजाने निर्णय गरेको छ । शुक्रबार अपराह्न सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेको हो ।

बैठकले जेनजी आन्दोलनका क्रममा घाइते भएकाहरूलाई सम्मान गर्ने निर्णयसमेत गरेको छ । भदौ २३ र २४ मा भएका आन्दोलनका घटनाबारे अनुसन्धान गर्न सरकारद्वारा गौरीबहादुर कार्कीको नेतृत्वमा जाँचबुझ आयोग गठन गरिएको थियो ।

सो आयोगले आफ्नो प्रतिवेदनमार्फत पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र तत्कालीन गृहमन्त्री रमेश लेखक लगायतलाई कारबाही गर्न सिफारिस गरेको छ ।

मन्त्रिपरिषद्ले सुरक्षा निकायसम्बन्धी विषयमा थप अध्ययन गर्न कार्यदल गठन गर्ने निर्णय पनि गरेको छ । त्यस्तै, शासकीय सुधारका लागि १०० बुँदे कार्यक्रम पारित गरिएको छ भने महान्यायाधिवक्ता सविता भण्डारीको राजीनामा स्वीकृत गरिएको जनाइएको छ ।

बैठकले सरकारको प्रवक्ताको जिम्मेवारी सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. विक्रम तिमिल्सिनालाई दिने निर्णयसमेत गरेको छ ।