सर्लाहीको-४ मा विवादपछि रोकिएको मतदान पुनः सुरु
काठमाडौँ : सर्लाहीको बलरा नगरपालिका–४ स्थित एक मतदान केन्द्रमा रोकिएको मतदान पुनः सुरु भएको छ ।
उक्त पालिका राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार अमरेशकुमार सिंहको क्षेत्र हो । केहीबेरअघि उम्मेदवार सिंह पनि मतदान केन्द्रमा पुगेका थिए । उनी पुगेपछि विवाद भएको विपक्षी पक्षले आरोप लगाएका छन् ।
प्रमुख जिल्ला अधिकारी र जिल्ला प्रहरी प्रमुखसहित सुरक्षा अधिकारीहरू घटनास्थलमा पुगेपछि विवाद मिलाइएको हो । बलरा–४ मा रहेको श्री प्राथमिक विद्यालयस्थित मतदान केन्द्रमा दुई पक्षका कार्यकर्ताबीच विवाद भएको थियो।
यसअघि बलरा–१ मा पनि केही समय तनावको स्थिति बनेको थियो। त्यसअघि सर्लाहीको बलरा नगरपालिकाकै अर्को केन्द्रमा प्रतिनिधिबीच विवाद हुँदा ढुंगामुढा भएको थियो । विवाद बढ्दै गएपछि कांग्रेस र रास्वपाका कार्यकर्ताबीच झडप भएको जनाइएको छ ।
उक्त केन्द्रमा बिहानैदेखि विवाद भइरहेकाले केही समय मतदान स्थगित गरिएको थियो । करिब आधा घण्टापछि स्थिति सामान्य बनाउने प्रयास गरिएको छ ।
घटनापछि प्रमुख जिल्ला अधिकारीसहित सुरक्षा निकायका अधिकारीहरू केन्द्रमा पुगेर अवस्था नियन्त्रणमा लिएका थिए ।