बैंक खाता नखोल्ने तथा नगद कारोबार गर्ने दल र उमेदवारलाई कार्बाही हुने

काठमाडौं। निर्वाचन आयोगले फागुन २१ गते हुने निर्वाचनका लागि बैंक खातामार्फत आम्दानी खर्च नदेखाउने राजनीतिक दल तथा उम्मेदवारहरूलाई कारबाही गर्ने चेतावनी दिएको छ । बैंक खाता नखोली वा खाता खोलेर पनि बैंकिङ कारोबार नगरी खर्च गर्ने दल वा उम्मेदवारलाई निर्वाचन आचारसंहिता उल्लंघन गरेको आधारमा प्रचलित व्यवस्थाअनुसार कारबाही गरिने आयोगले बताएको छ । आयोगले बैंक खातामार्फत मात्र खर्च गर्न राजनीतिक दलहरूलाई पहिलै निर्देशन दिएको थियो । आयोगले तोकेको व्यवस्था उल्लंघन गरेर कैयौं दलहरु र उमेदवारहरुले बैंक खाता समेत खोलेका छैनन् । हालसम्म ९ वटा राजनीतिक दल र १ हजार ३ सय ८९ उम्मेदवारले मात्रै बैंक खाता सञ्चालनमा ल्याएका छन् । ठुला भनिएका दलहरु नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) लगायतका ठूला दलहरूले समेत हालसम्म बैंक खाता खोलेका छैनन् । हालसम्म नेपाली कांग्रेस, राष्ट्रिय जनमोर्चा, नेकपा संयुक्त, नेपाली कम्युनिस्ट पार्टी (नेकपा), नेपालका लागि नेपाली पार्टी, जनता समाजवादी पार्टी (जसपा), संयुक्त नागरिक पार्टी, मितेरी पार्टी र नेपाल जनता संरक्षण पार्टीले बैंक खाता संचालनमा ल्याएका छन् । आयोगले खाता खोलेर बैंकिङ कारोबारमार्फत मात्र निर्वाचन खर्च गर्न आग्रह गरेको छ । २५ हजार रुपैयाँभन्दा बढी रकम प्राप्त गर्दा अनिवार्य रूपमा बैंक खातामार्फत गर्नुपर्ने व्यवस्था गरिएको छ ।