अब दुई पटकभन्दा बढी प्रधानमन्त्री र मुख्यमन्त्री बन्न नपाउने विश्वप्रकाशको दाबी
काठमाडौं । विश्वप्रकाश शर्माले अब उप्रान्त कुनै पनि व्यक्ति दुई पटकभन्दा बढी प्रधानमन्त्री र प्रदेशको मुख्यमन्त्री बन्न नपाउने दाबी गरेका छन्। सोमबार लमजुङमा आयोजित सभालाई सम्बोधन गर्दै नेपाली कांग्रेसका उपसभापति शर्माले पार्टीले यस्तो व्यवस्था संविधानमै अंकित गर्ने तयारी गरेको बताए।
उनले भने, “कुनै पनि व्यक्ति सत्तामा निरन्तर आसन जमाउने परम्परा भत्काएर हामी एक/दुई/तीन/चार को नीति संविधानमा अंकित गर्नेछौँ। अब उप्रान्त कोही पनि प्रधानमन्त्री र मुख्यमन्त्री दुई पटकभन्दा बढी रहन पाउने छैनन्।”
उपसभापति शर्माले कांग्रेस बदलिएको सन्देश मतदातासम्म पुगेको दाबी गर्दै फागुन २१ गते हुने निर्वाचनमा विजय हासिल हुने विश्वास व्यक्त गरे। “देश जान्दछ, कांग्रेस बदलिएको छ। र, यो पनि देश जान्दछ—जो बदलिन सक्छ उसैले बदल्न सक्छ,” उनले भने।
देशको शासन प्रणालीमा आवश्यक सुधारका विषयमा कांग्रेसले गहन अध्ययन गरेको उल्लेख गर्दै उनले ‘जेनजी’ पुस्ताको विद्रोही भावना अनुरूप सुधार, परिमार्जन र समग्र परिवर्तन कांग्रेसबाटै सम्भव हुने दाबी गरे।