कांग्रेससँग देश बदल्ने पनि तागत छ: उपसभापति शर्मा

बुटवल । नेपाली कांग्रेसका उपसभापति विश्व प्रकाश शर्माले बदलिएर आएको कांग्रेस पार्टी आगामी निर्वाचनबाट बहुमतका साथ देशकै पहिलो र ठूलो दल बन्ने दाबी गरेका छन् । उनले बदलिएकाे काँग्रेसंग देश बदल्ने तागत पनि रहेकाे बताउँदै देश बदल्ने नेपाली जनताकाे सपना कांग्रेसले साकार पार्ने दावी गरे ।

फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनबाट सबैभन्दा ठूलो र पहिलो दलको रुपमा आउने उनको भनाइ छ । उनले देशका विभिन्न स्थानमा पुग्दा र प्राप्त गरिएको विभिन्न ठाउँको सूचनाबमोजिम कांग्रेस पहिलो पार्टी बन्ने बताएका हुन् ।

कांग्रेस रुपन्देहीले बिहीबार भैरहवामा आयोजना गरेको प्रतिनिधिसभा सदस्य निर्वाचन–२०८२ अन्तर्गत पार्टी सदस्य भेटघाट कार्यक्रममा उपसभापति शर्माले कांग्रेस फेरी ठूलो दलको रुपमा देशको नेतृत्व गर्ने गरी बहुमतको दिशातर्फ अग्रसर भइरहेको बताए । ‘कांग्रेसले धेरै निर्वाचनहरु जितेको छ । जित्ने कुरा हाम्रा लागि नौलो कुरा होइन, कयौं निर्वाचन हामी हारेका छौं । हार्ने कुरा पनि कांग्रेसको जिन्दगीमा नौलो कुरा होइन । तर, यो निर्वाचन कुन दल र उम्मेदवारले जित्ने भन्दा पनि अझ विशेष, गहन र गम्भीर छ,’ उनले भने ।

‘२०८४ मा हुने चुनाव २०८२ मा किन हुँदैछ ? ७४ जना आमाको काख किन जल्यो ? देशको सिंहदरबार, संसद् भवन किन जल्यो, अरबौं खरबौंको क्षति किन भयो, देशमा त्यो प्रकारको निराशा किन भयो ? यो भएको कुराको गम्भीर समीक्षा गरेर मतदातालाई मत दिन काँग्रेस आग्रह गर्ने हो,’ शर्माले भने ।

देशमा मन जलेको, मान्छेको मन भाँचिएको र विश्वास टुक्रिएको उनको भनाइ छ । ‘यो बेला जेनजी विद्रोह सबै गलत भयो, भदौ २३ अघि सबै ठीक थियो भन्ने होइन,’ उनले भने । पुरानाका दिन गए भन्न नमिल्ने उनको भनाइ छ ।

यो धर्तीमा सबैभन्दा पूरानो कुरा धर्ती नै भएको र नयाँ भनेको जन्ममितिले नहुने शर्माले बताए । ‘नयाँ भनेको सोच, दृष्टिकोण र नेतृत्वको बदलावले हुन्छ । साँच्दै बदलिएको हो र नयाँ भएर आएको काँग्रेस नै हो,’ शर्माले भने ।

जेनजी विद्रोहले देशमा परिवर्तन खोजेको उनले बताए । संसार बदल्नु छ भने आफूबाट नै सुरुवात गर्नुपर्ने शर्माको भनाइ छ ।

त्यस्तै, पूर्वगृहमन्त्री तथा नेपाली कांग्रेसका पूर्व केन्द्रीय सदस्य बालकृष्ण खाणले आगामी फागुन २१ गते हुने निर्वाचनमा कांग्रेसको बहुमत आउन जरुरी रहेको बताए । उनले कांग्रेसका सबै नेता–कार्यकर्ता एकताबद्ध भएर पार्टीका उम्मेदवारलाई जिताउन आग्रह गरे । कांग्रेस नेतृत्वको सरकारले गौतमबुद्ध अन्तर्राष्टिय विमानस्थल बनाएको र कांग्रेस नेतृत्वले नै यसको सञ्चालन गर्ने उनको भनाइ छ ।

पार्टीका केन्द्रीय सदस्य तथा लुम्बिनी प्रदेशसभा सदस्य अब्दुल रज्जाकले मुलुकको समस्याको समाधान कांग्रेसले मात्रै गर्न सक्ने बताए । प्राप्त उपलब्धिहरुलाई संस्थागत गर्न कांग्रेसलाई चुनावमा जिताउन आवश्यक रहेको उनले बताए । सो अवसरमा रुपन्देहीका ५ वटा निर्वाचन क्षेत्रबाट प्रतिनीधिसभा निर्वाचनमा उम्मेदवार बनेका क्षेत्र नं. १ का हिराबहादुर खत्री, क्षेत्र नं. २ का चुन्नप्रसाद पौडेल, क्षेत्र नं. ३ का सुशिल गुरुङ, क्षेत्र नं. ४ का आशुतोष मिश्रा र क्षेत्र नं. ५ का भरतकुमार शाहले समेत सम्बोधन गरेका छन् ।

कांग्रेस लुम्बिनी प्रदेश उपसभापति तथा प्रदेह निर्वाचन परिचालन समिति संयोजक राजु खनालले फागुन २१ हुने निर्वाचनपछि कांग्रेस नेतृत्वको सरकार बने मात्र जेनजी पुस्ताले उठाएको माग सम्बोधन गर्न सकिने बताए ।