बंगलादेशको मतपरिणाम: नयाँ विद्रोहकाे रापतापबाट बनेकाे पार्टीको लज्जास्पद हार
काठमाडौं। सन् २०२४ को ऐतिहासिक विद्यार्थी विद्रोहको रापतापबाट उदाएको बंगलादेशको नयाँ राजनीतिक शक्ति ‘नेशनल सिटिजन पार्टी’ (एनसीपी) लाइ आफ्नो पहिलो चुनावी गाँसमै ढुङ्गा लागेको छ। शेख हसिनाको शासन ढाल्न सफल युवाहरूको यो पार्टीले बिहीबार सम्पन्न आम निर्वाचनमा लज्जास्पद हार बेहोरेको छ।
अन्तर्राष्ट्रिय सञ्चार माध्यम अल जजिराका अनुसार ३ सय मध्ये ३० निर्वाचन क्षेत्रमा मात्र उम्मेदवारी दिएको एनसीपीले ६ सिटमा मात्र जित हासिल गरेको छ। विद्रोहका चर्चित अनुहार नाहिद इस्लामले चुनाव जितेका छन्। अन्य अधिकांश उम्मेदवारको जमानत जफत भएको छ। नाहिद बंगलादेशी संसदमा सबैभन्दा कान्छा सांसद हुनेछन्।
विद्रोहको विरासत र चुनावी मैदान
जुलाई २०२४ मा सरकारी जागिरको आरक्षणविरुद्ध सुरु भएको आन्दोलनले हसिना सरकार नै ढालेपछि विद्यार्थी नेताहरूले ‘सिस्टम’ बदल्ने उद्घोषसहित एनसीपी गठन गरेका थिए। १४ सयभन्दा बढी सहिदको रगत र हजारौँ घाइते युवाहरूको भावना बोकेको यो पार्टीले आफूलाई भ्रष्टाचार र तानाशाहीविरुद्धको एकमात्र विकल्पका रूपमा प्रस्तुत गरेको थियो।
निर्वाचन प्रचारका क्रममा एनसीपीले पुरानो पुस्ताका नेताहरूलाई ‘अवसरवादी’ भन्दै सामाजिक सञ्जाल र युवा केन्द्रित सडक सभाहरूलाई जोड दिएको थियो। उनीहरूले रोजगारी, सुशासन र सहिद परिवारलाई न्यायको एजेन्डा उठाएका थिए तर डिजिटल प्लेटफर्ममा देखिएको ठूलो समर्थनलाई भोटमा बदल्न यो दल पूर्णतः असफल देखियो।
राजनीतिक विश्लेषकहरूका अनुसार एनसीपीको हारको मुख्य कारण ‘संगठनात्मक अनुभवहीनता’ हो। यो पार्टीसँग दशकौँसम्म ग्रासरुटमा काम गरेका अनुभवी नेता र कार्यकर्ताको संयन्त्र अभाव थियो। चुनावी राजनीतिमा चाहिने साम, दाम, दण्ड र भेदको अगाडि विद्यार्थीहरूको भावनात्मक एजेन्डा फिक्का सावित भयो।
पुरानो दलका नेता बन्नेछन् प्रधानमन्त्री
अर्कोतर्फ, पुरानो शक्ति बंगलादेश नेसनालिस्ट पार्टी (बीएनपी)सँग चुनावी प्रतिस्पर्धा गर्नु एनसीपीका लागि फलामको चिउरा चपाउनु सरह भयो। बीएनपीले आन्दोलनकारी विद्यार्थीहरूसँग सुरुमा सहकार्य गरेको थियो। निर्वाचनको समयमा आफ्नो राजनीतिक पकड प्रयोग गरी दुई-तिहाइ नजिकको बहुमत (२०८ सिट) हासिल गर्यो। एनसीपीले कतिपय क्षेत्रमा कट्टरपन्थी जमात-ए-इस्लामीसँग तालमेल गरे पनि त्यसले धर्मनिरपेक्ष र मध्यममार्गी युवा भोट झन् भड्काएको बताइन्छ।
निर्वाचन परिणामसँगै एनसीपीले मतगणनामा धाँधली भएको आरोप लगाएको छ। बीबीसीका अनुसार उसले केही क्षेत्रमा पुन: मतगणनाको माग गरेको छ।
दुई दशकपछि सत्तामा फर्कन लागेका बीएनपी नेता तारिक रहमानको जित उत्साहजनक छ। रहमान बंगलादेशका नयाँ प्रधानमन्त्री बेन्नेछन्। विद्रोही युवाका लागि भने संसदीय राजनीतिमा स्थापित हुन निकै कठिन रहेको यो नतिजाले पुष्टि गरेको छ।
अल जजिराका अनुसार पछिल्लो परिणाममा बंगलादेश नेसनालिस्ट पार्टी (बीएनपी)ले २०८ सिट जितेको छ। ३ सय सिट रहेको बंगलादेशी संसदमा मात-ए-इस्लामी पार्टीले ६८ सिट जितेको छ। ‘नेशनल सिटिजन पार्टी’ले ६ सिट जितेको छ भने अन्य उम्मेदवारले ९ सिट जितेका छन्।