घर कर्जाका लागि बैंकले कति ब्याजदरमा ऋण दिइरहेका छन् ?

काठमाडौँ । ब्याजदर घटेको मौका छोपेर बैंकबाट घर कर्जा लिएर घर निर्माण गर्न चाहनेका लागि पछिल्लो समय अनुकुल बन्दै गइरहेको छ । बैंकहरूले घट्दो ब्याजदरमा अफरसमेत राखेर घरकर्जा उपलब्ध गराउँदै आएका छन् । यसले घर निर्माणलाई सहज बनाउँदै गएको छ ।

अर्थतन्त्रको सुस्तता र अधिक तरलताका कारण बैंकहरूले घर निर्माणतर्फ कर्जा बढाउने प्रयास गरिरहेका छन् ।

कुन बैंकको कति ब्याजदर ?

घर कर्जाका लागि सबैभन्दा थोरै ब्याजमा ऋण राष्ट्रिय वाणिज्य बैंकको घर कर्जामा पाइन्छ । तर यो शर्तसहित हो । भूकम्प प्रभावितलाई दिने कर्जाको ब्याजदर ४.६७ प्रतिशतमा भूकम्प प्रभावितलाई घरकर्जा दिने भएको छ । विगतदेखि नै भूकम्प प्रभावितलाई सस्तो ब्याजदरमा कर्जा दिँदै आएको यस बैंकले पछिल्लो पटक फेरि ब्याजदर घटाएको हो ।

राष्ट्रिय वाणिज्य बैंकले नेपाली सेनाका लागि ४.७४ प्रतिशत ब्याजदरमा घरकर्जा उपलब्ध गराइरहेको छ भने ३ करोड रुपैयाँसम्मको मेरो घरकर्जामा ५.९२ प्रतिशतदेखि ६.१७ प्रतिशतसम्म ब्याजदर तय गरेको छ ।

यस बैंकले १५ वर्ष अवधिको साधारण घर कर्जाको ब्याजदर ६.४२ प्रतिशतदेखि ६.९२ प्रतिशतसम्म, २० वर्ष अवधिको महालक्ष्मी घर कर्जाको ६.४२ देखि ६.९२ प्रतिशतसम्म, ३ करोड रुपैयाँभन्दा कमको घर कर्जामा ६.४२ प्रतिशत र २० वर्ष अवधिको तपाईंको आफ्नै घर कर्जामा ६.१४ प्रतिशतदेखि ७.१७ प्रतिशत ब्याजदर निर्धारण गरेको छ ।

यस्तै नेपाल बैंकको २५ वर्ष अवधिको सर्वसुलभ आवास कर्जाको ब्याजदर ५.५६ प्रतिशतदेखि ७.०६ प्रतिशतसम्म छ भने घडेरी कर्जाको ब्याजदर ६.८१ देखि ८.८१ प्रतिशतसम्म र सुलभ आवास कर्जाको ब्याजदर ७.०५ प्रतिशत छ । यस्तै ५ वर्ष अवधिको घर कर्जाका लागि यस बैंकले ९.९० प्रतिशत स्थीर ब्याजदर, १० वर्ष अवधिको घर कर्जाका लागि ९.९९ प्रतिशत स्थीर ब्याजदर र १० वर्ष अवधिकै घडेरी कर्जाका लागि ९.९९ प्रतिशत स्थीर ब्याजदरमा कर्जा दिइरहेको छ ।

यस्तै नेपाल इन्भेष्टमेन्ट बैंकले तीन करोडसम्मको घर कर्जामा ७.२० प्रतिशतदेखि ९.२० प्रतिशतसम्म ब्याजदर कायम गर्दा ३ करोड रुपैयाँसम्मको घर कर्जामा ५.२० देखि ७.२० प्रतिशतसम्म ब्याजदर लिनेछ ।

एनएमबी बैंकले १ करोडभन्दा कम ऋण लिँदा ७.४८ प्रतिशत ब्याजदर तिर्नुपर्छ भने जग्गा खरिदका लागि १ करोड रुपैयाँ कर्जा लिन ६.४८ देखि ८.४८ प्रतिशतसम्म ब्याजदर तिर्नुपर्छ । यस्तै २० वर्ष अवधिका लागि ३ करोड रुपैयाँसम्मको घर कर्जामा ५.९८ देखि ७.९८ प्रतिशतसम्म ब्याजदर कायम हुँदा २० वर्ष अवधिका लागि ३ करोड रुपैयाँ घर कर्जा लिँदा ५.९८ देखि ७.९८ प्रतिशत ब्याजदर तिर्नुपर्छ । यस्तै एनएमबी बैंकले १० वर्ष अवधिको सुलभ घर कर्जामा ९.९९ प्रतिशतको अफर ल्याएको छ ।

एभरेष्ट बैंकले ७ वर्षको अवधिका लागि घर कर्जामा ७.४९ प्रतिशतको स्थीर ब्याजदर लागू गरेको छ भने घर कर्जामा ५.७५ देखि ७.७५ प्रतिशतसम्म ब्याजदर कायम गरेको छ । नविल बैंकले घर कर्जामा ५.५४ देखि ७.५४ प्रतिशतमा घर कर्जा दिइरहेको छ भने एफर्डेवल लोनको ब्याजदर ५.७९ प्रतिशत कायम गरेको छ । सिद्धार्थ बैंकले ७ वर्ष अवधिको घर कर्जामा ७.७५ प्रतिशत र ७ वर्षका लागि महिलाका लागि घर कर्जामा ७.४९ प्रतिशत ब्याजदर तय गरेको छ ।

यस्तै सिटिजन्स बैंकले ७ वर्षसम्मको हाउजिङ कर्जाको ७.९९ प्रतिशत ब्याजदर कायम गरेको छ । जुन बैंकले दिएको अफर समेत हो ।

प्राइम बैंकले ५.८२ प्रतिशतदेखि १०.८२ प्रतिशतसम्म ब्याजदरमा घरकर्जा उपलब्ध गराइरहेको छ । यस बैंकले सोही ब्याजदरमा घर मर्मतका लागि समेत कर्जा उपलब्ध गराइरहेको छ ।

घट्दो ब्याजदरको प्रभाव घर कर्जामा कति ?

पछिल्ला महिनाहरूमा घट्दो ब्याजदरका कारण घरकर्जा लिएर घर निर्माण गर्ने क्रम क्रमशः बढेका छन् । राष्ट्र बैंकका अनुसार, चालु आवको पुससम्ममा २० लाख रुपैयाँसम्मको व्यक्तिगत आवासीय कर्जा ६.३ प्रतिशतले बढेको छ ।

गत आवको पुससम्ममा यस्तो कर्जा ३.९ प्रतिशतमात्रैले बढेको थियो । चालु आवको साउनदेखि पुससम्ममा यस्तो कर्जा २६ अर्ब २७ करोड रुपैयाँ विस्तार भइसकेको राष्ट्र बैंकको तथ्यांक छ । जबकी गत आवको सोही अवधिमा यस्तो कर्जा विस्तार १५ अर्ब १५ करोड रुपैयाँ मात्रै भएको थियो । हालसम्म व्यक्तिगत आवासका लागि ४ खर्ब ४३ अर्ब ८४ करोड रुपैयाँ कर्जा विस्तार भएको केन्द्रीय बैंकको तथ्यांक छ ।

गत आवको असारसम्ममा यस्तो कर्जा ४ खर्ब १७ अर्ब ५६ करोड रुपैयाँ थियो । अघिल्लो असारमा भने यस्तो कर्जा ३ ख र्ब ८७ अर्ब १ करोड रुपैयाँ रहेकोमा ८१ पुससम्ममा बढेर ४ खर्ब २ अर्ब १७ करोड रुपैयाँ पुगेको थियो ।