नारायणगढ–मुग्लिन सडक सञ्चालन हुन अनिश्चित, वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह
काठमाडौँ । नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत तुइन खोला नजिक पहिरो खस्ने क्रम नरोकिएकोले यो सडक सञ्चालन हुँन अनिश्चित बनेको छ । ३६ घण्टादेखि अवरुद्ध रहेको सडकखण्डको पहिरो पन्छाउने काम आज बिहानैदेखि सुरुआत गरिए पनि पहिरो खस्ने क्रम नरोकिएकोले समस्या भएको हो ।
पहिरो पन्छाउने क्रममा माथिबाट पुनः पहिरो खसिरहेकाले पन्छाउन समय लागेको जानकारी गरिएको छ ।
रातका समयमा काम गर्न कठिन हुने भएकाले शनिबार साँझदेखि आज बिहानसम्म पहिरो पन्छाउने काम रोकिएको थियो । करिब ७० मिटरमाथिबाट खसेको पहिरोका कारण एक सय ६० मिटर सडक ढाकेको छ भने १० मिटर चौडाइ र १६ मिटर उचाइ रहेको थियो ।
पहिरोका कारण सडकमा शुक्रबारदेखि यात्रु तथा सवारीसाधन अलपत्र परेका छन् । यो सडकमा दैनिक १० हजार बढी सवारीसाधन आवतजावत हुने गर्छ । यस सडक भएर गुड्ने सवारीसाधनलाई वैकल्पिक बाटो प्रयोग गर्न सडक डिभिजन भरतपुरले अनुरोध गरेको छ ।
नौबिसे–दामन–हेटौँडा र । मुग्लिन–भिमाद–डेढगाउँ–गैँडाकोट (कालीगण्डकी करिडोर) बाट गन्तव्यमा पुग्न सकिने सडक डिभिजनले बताएको हो ।