आवधिक निर्वाचनमा कसैले दायाँ–बायाँ गर्न सक्दैन : गगन थापा
काठमाडौं । सत्ता साझेदार नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले आवधिक निर्वाचन समयमै गर्ने कुरामा कसैले दायाँ–बायाँ गर्न नसक्ने दावी गरेका छन्। आइतवार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन्।
उनले दक्षिण एसियाका धेरै देशहरूमा आवधिक निर्वाचन समयमै नहुने बताए। उनले समयमै आवधिक निर्वाचन हुने कुरालाई नेपालमा कसैले हल्लाउन नसक्ने उनको भनाइ छ।
निर्वाचनसम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक सरकारले विधेयकका रुपमा ल्याउँदा निर्वाचन आयोगले पेश गरेका कुराहरू पनि हटाएर ल्याउन सक्ने भन्दै सबै चनाखो हुनुपर्ने बताए । आवश्यकताका आधारमा विधेयकमा थपघट गरेर जान सकिने उनले बताएका छन्।
महामन्त्री थापाले निर्वाचनको उम्मेदवार छनौट गर्ने कुरा जुन ठाउँमा निर्वाचन हुने त्यहीँका पार्टी सदस्यले उम्मेदवार छान्न पाउने कुरा राम्रो भएको बताए। मतदाता शिक्षा नागरिकमाझ विस्तार गर्न जरुरी रहेको बताए।