राष्ट्राध्यक्ष भएको व्यक्ति राजनीतिमा फर्किने कुरा संविधानले कल्पना नगरेकोले सदस्यता स्वत: निष्क्रिय : एमाले
काठमाडौं । नेकपा एमालेले मुलुकको राष्ट्राध्यक्ष भइसकेको व्यक्ति अवकाश प्राप्त गरिसकेपछि राजनीतिमा फर्किने विषय संविधानले परिकल्पना गरेको छैन ।
पार्टीको आठौं केन्द्रीय कमिटी बैठकको निर्णय सार्वजनिक गर्न पार्टी कार्यालय च्यासलमा गरिएको पत्रकार सम्मेलन गरेर एमालेले पार्टीको धारण सार्वजनिक गरेको हो ।
‘संवैधानिक राष्ट्राध्यक्षको व्यवस्था रहेको हाम्रो लोकतान्त्रिक प्रणाली कार्यकारी प्रमुखका रुपमा राष्ट्रपति रहने मुलुकको प्रबन्ध भन्दा भिन्न रहेको स्पष्ट छ,’ एमालेले जारी गरेको प्रेस विज्ञप्तीमा उल्लेख छ, ‘यस्तो गरिमामय भूमिकामा रहेको राष्ट्राध्यक्षले पदीय जिम्मेवारीमा रहँदा त्यसबाट अवकाश प्राप्त गरिसकेपछि पनि आफ्नो दलीय आबद्धतामा फर्किने विषय नेपालको संविधानले परिकल्पना नगरेको तर्क प्रस्तुत गरको हो ।’
पूर्व राष्ट्रपति भण्डारीको पार्टी सदस्यता नवीकरणबारे व्याख्या गर्दै एमालेले उहाँ राजनीतिमा सक्रिय हुनु राजनीतिक मान्यता विपरीत रहेको जनाएको छ ।
केन्द्रीय कार्यालय च्यासलमा पत्रकार सम्मेलनमा बोल्नुहुँदैँ महासचिव शंकर पोखरेलले यस्तो बताउनुभएको हो । विधान अनुसार केन्द्रीय कमिटी बैठकले नै सदस्यता नवीकरणबारे निर्णय लिने भन्दै केन्द्रीय कमिटीले नै भण्डारी राजनीतिमा आउन आवश्यक नठानेकाले सदस्यताको विषयमा प्रवेश गर्नै नपर्ने उहाँको भनाइ थियो ।
एक वर्ष अघि नै नवीकरण भएको सदस्यताको विषय छलफलकै आधारमा सार्वजनिक नगरेको उहाँले बतानुभयो । तर, भण्डारी आफैंले यो विषय सार्वजनिक गरेपछि पार्टीले निर्णय लिएको पोखरेलको भनाइ थियो ।
‘सदस्यता नवीकरणका लागि प्रतिवेदन पठाउनुभएको र शुल्क बुझाउनुभएको जानकारीमा आएकै छ । उहाँले सदस्यता नवीकरण गरिसकेपछि यो विषयलाई सार्वजनिक नगरौं, यो विशेष विषय हो’ पोखरेलले भन्नुभयो, ‘पार्टीका तर्फबाट यसलाई सार्वजनिक गर्न हुँदैन भन्ने धारणा हो । उपयुक्त समयमा पार्टीले छलफल गर्नुपर्छ भनेर सार्वजनिक नगरेको हो । पूर्वराष्ट्रपति स्वयं आफैंले सार्वजनिक गरेपछि पार्टीले आफ्नो धारण सार्वजनिक गरको हो ।