बजेटले विदेशमा भविष्य खोज्न हिँडिरहेका युवाहरूको लागि देशमा भविष्य देखाएको छ : अर्थमन्त्री पौडेल

काठमाडौं – उपप्रधान एवम् अर्थमन्त्री विष्णु पौडेलले सरकारले  बजेटको माध्यमबाट लगानीको लागि अनुकूल वातावरण सिर्जना गर्ने प्रस्तावहरू अगाडि सारेको  बताउनुभएको छ । उहाँले तेस्रो नेशनल बैंकिङ्ग डिस्कोर्श २०२५ लाई सम्बोधन गर्दै सो बताउनुभएको हो ।

यो वर्षको बजेटले विदेशमा भविष्य खोज्न हिँडिरहेका धेरै युवाहरूको लागि देशमा भविष्य छ भन्ने कुराको सन्देश दिन कोसिस गरिएको  उहाँको भनाइ छ । बजेटले उत्पादन,रोजगारी,उत्पादकत्व क्षमता वृद्धि लगायतमा समर्थन गर्ने विश्वास लिएका छौँ । ‘वित्त नीति र मौद्रिक नीतिको बिचमा उचित प्रकारको सन्तुलन र समन्वयको आवश्यकता पर्दछ ।

साथै यो दुई नीति बीचको समन्वयले देशको अर्थतन्त्रले सही गति लिने छ । ’ वित्त नीति र मौद्रिक नीति बीचको सबल नेतृत्वले देशको आर्थिक पाटोलाई निकास्ने काम गर्ने छ । 

सरकारले भर्खरै बजेट प्रस्तुत गरेको छ । अब केही समयमा राष्ट्र बैंकले ल्याउने मौद्रिक नीति उक्तिकै प्रभावकारी आउने उहाँको बुझाई छ । उहाँकाअनुसार वित्त नीति र मौद्रिक नीति बीचको अनुकूल सङ्गति निजी क्षेत्रले देख्न पाउने उहाँले आशा र विश्वास पनि दिलाएका छन् । 

बैंक तथा वित्त कम्पनी भित्र हुने गरेका समस्याहरूको समाधानको लागि सरकारले पहल गर्ने बताउनुभयो । पौडेलले सरकार बैंकिङ्ग क्षेत्रको समस्या समाधानमा तयार रहेको बताउनुभयो । वित्तीय क्षेत्रलाई राम्रोसँग अगाडी बढाउनु पर्ने अवस्था रहेको उहाँले बताउनुभयो। अर्थमन्त्री पौडेलले बजेटप्रति राम्रो प्रतिक्रिया पाएको समेत उल्लेख गर्नुभयो । 

भर्खरै प्रस्तुत भएको बजेटमा सबल र दुर्लभ पक्षको चर्चा गरियोस् भन्ने उनको धारणा रहेको छ । ‘बजेटमा सबैजसो टीकाटिप्पणी भइरहन्छ यो पटकको बजेटमा तुलनात्मक रूपमा कम टीकाटिप्पणी भएको छ । अर्थ जगतसँग सम्बन्धी सबै क्षेत्रबाट सकारात्मक प्रतिक्रिया आएको छ ।

यसले मलाई हौसला मिलेको छ यसको कार्यान्वयनको लागि सबै क्षेत्रबाट पहल हुने बताए । बैंक र वितिय क्षेत्रलाई अनुशासित र व्यवस्थित तरिकाले अगाडि बढाउन आवश्यक रहेको छ र रोजगारी उत्पादन वृद्धिको लागि बैंकको भूमिकालाई बढाउन पनि आवश्यक रहेको छ।