मनसुन सुरु हुन लाग्यो, पूर्वतयारीमा ध्यान दिनुस् : सभापति देउवा
काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले मनसुन सुरु हुन लागेको भन्दै आवश्यक तयारी गर्न सरकारसँग आग्रह गर्नुभएको छ।
आइतबार पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजित वातावरण तथा जलवायु परिवर्तन सरोकार संवाद कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस पटक बढी वर्षा हुने र बढी तापक्रम पनि हुने भन्ने प्रक्षेपण भएको भन्दै बाढी, पहिरो, डुबानका साथै संक्रामक रोगहरुबाट हुने जनधनको क्षतिबाट जोगाउन अहिलेदेखि नै सतर्कता र तयारीका थाल्नुपर्नेमा जोड दिनुभयो।
‘विकास संरचना निर्माणका क्रममा वातावरणीय पक्षलाई बेवास्ता गर्नुले क्षति अझ बढेको छ, मनसुन सुरु हुन लाग्यो,’ उहाँले, ‘यस पटक बढी वर्षा हुने र बढी तापक्रम पनि हुने भन्ने प्रक्षेपण भएको सन्दर्भमा यसबाट हुने बाढी, पहिरो, डुबानका साथै संक्रामक रोगहरुबाट हुने जनधनको क्षतिबाट जोगाउन अहिलेदेखि नै पूर्वशतर्कता,शतर्कता र तयारीका लागि नेपाल सरकारले गर्नुपर्ने कार्यहरु तत्काल गर्न आग्रह गर्दछु। अब हामीलाई चाहिएको विकास निर्माण होइन, दिगो विकास हो। स्वच्छ र सुरक्षित नेपाल आगामी पुस्तालाई हस्तान्तरण गर्ने हाम्रो कर्तव्य हो।’
सभापति देउवाले जलवायु परिवर्तनले नेपालको अर्थतन्त्रका आधारस्तम्भहरु कृषि, पर्यटन, जलविद्युत जस्ता क्षेत्रहरुमा गम्भीर असर पुर्याएको भन्दै यसले आर्थिक र सामाजिक विभेद बढाउनुका साथै अर्थतन्त्रमा जोखिम बढाएको उल्लेख गर्नुभयो।