राजावादी आन्दोलर्न पैसा छ, भाडाका मान्छे ल्याएर चुरीफुरी गर्दैछन् : अध्यक्ष प्रचण्ड
नुवाकोट । प्रमुख प्रतिपक्षी नेकपा (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आउँदो निर्वाचनमा चुनाव जितेर देशमा शासन गर्न राजावादीहरुलाई चुनौती दिएका छन् । शनिबार विदुरमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले राजावादीले अनावश्यक रुपमा संविधान विरोधी गतिविधि गरिरहेको बताउनुभएको छ।
अध्यक्ष प्रचण्डले आगामी २०८४ सालको निर्वाचनमा बहुमतसहित जितेर देशको शासन सत्ता आफ्नो हातमा लिन चुनौती दिए । माग र विरोधका कार्यक्रम गर्ने बहानामा राजावादीहरुले जनतालाई उक्साइरहेको प्रचण्डले आरोप लगाउनुभयो । यो व्यवस्थालाई आत्मसात गर्न नसक्ने शक्तिहरुले संविधान विरोधी गतिविधि गरिरहेको सरकार र सरकारमा सहभागी दलहरूको कारण राजावादीका नाममा अनेक गतिविधि हुन थालेको उल्लेख गर्नुभयो ।
अध्यक्ष प्रचण्डले राजावादी आन्दोलनमा सहभागीहरुलाई भाडामा ल्याइएको टिप्पणी गर्नुभयो । प्रचण्डले राजावादी र पूर्व राजा ज्ञानेन्द्र शाहलाई धेरै चुरीफुरी नगर्न आग्रह गरेका हुन् । उनले सदनमा संविधान अनुसार शपथ खाएर संविधानिवरुद्ध नजान चेतावनी दिनुभयो ।
उहाँले भने, ‘सदनमा यही संविधान अनुसार शपथ पनि खाने कानुन अनुसार सदनमा बसेर सबै सुविधाहरु लिने अनि यही संविधानविरुद्ध जाने तर्कको हिसाबले पनि नैतिकताको हिसाबले पनि विल्कुल बेठीक हो । मैले धेरै अगाडिदेखि भन्दै आइरहेको छु राजावादी र ज्ञानेन्द्रलाई धेरै चुरीफुरी नगरे हुन्छ । नेपाल धेरै अघि बढिसकेको छ । भाडामा मान्छे ल्याएर कहिलेकाही जुलुस गर्ने कुरा सामान्य हो । राजावादीहरुले चुनाव लडेर बहुमत ल्याएर सरकार बनाउने स्वतन्त्रता उहाँहरुलाई छ । राजावादीको पक्षमा एउटा पनि नजित्ने यत्रो उपनिर्वाचन नजित्ने राप्रपा सविधान नै खारेज गर्ने तुक कुनै अर्थ छैन । उहाँहरुसँग अलिकति पैसा छ । त्यही पैसाले मान्छे ल्याउने हो । ’
गृहमन्त्री रमेश लेखकले राजीनामा दिनु पर्ने आफ्नो दलको बटमलाइन रहेको बताउँदै प्रचण्डले नैतिकताका आधारमा गृहमन्त्रीले राजीनामा दिएर छानबिनका लागि मार्ग प्रशस्त गर्नुपर्ने बताउनुभयो । नेपालमा अरु मन्त्रीहरू समेत आफूलाई आरोप लाग्दा नैतिकताका आधारमा राजीनामा दिएर छानबिनका लागि मार्ग प्रशस्त गरेको उदाहरण दिँदै अध्यक्ष प्रचण्डले गृहमन्त्रीले राजीनामा नदिएसम्म अन्य विषय अगाडि बढ्न नसक्ने बतानुभयो ।
अध्यक्ष ‘प्रचण्ड’ ले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्था र अग्रगामी परिवर्तनको पक्षमा दृढतापूर्वक उभिनु सच्चा गणतन्त्रवादीको कार्यभार भएको बताउनुभयो । अनेक गतिविधिका कारण गणतन्त्रलाई समस्यामा पार्न खोजिएको र त्यो जुनसुकैले गरे पनि दिवास्वप्न मात्रै भएको बताउनुभयो । अध्यक्ष प्रचण्डले नुवाकोटको शेरा दरबार प्रकरण आफू विरुद्धको षडयन्त्रको एउटा नमूना मात्रै भएको बताए । ‘मैले भनेको छु, यसमा मलाई छानविन सुरु गरियोस भने, तर, छानविन किन गरिएको छैन, म आफैं अचम्ममा परेको छु ’ उहाँले भन्नुभयो ।
उहाँले विदुर नगरपालिका २ तादी नदी किनारामा रहेको शेरा दरबार प्रकरण यतिखेर टाईटाइफिस भएको दाबी गरे।खुल्ला रुपमा मैले आफू संलग्नता छैन, छानबिन गरियोस् भनिरहेको छु । तर, किन छानविन हुँदैन भनेर प्रतिप्रश्न गरे ।उनले वर्तमान सरकार देशमा सुशासन कायम गर्न, भ्रष्टाचार नियन्त्रण गर्न र जनभावना अनुसार चल्न नसकेको बताउनुभयो । सरकार परिवर्तनको खेलमा माओवादी नलागेको उनले दोहोर्याए । प्रचण्डले यो सरकार कुन बेला आफ्नै बोझले ढल्छ, कसैलाई थाहा नभएको टिप्पणी गर्नुभयो ।