सार्वजनिक संस्थानमा सरकारको ७ खर्बभन्दा बढी लगानी
काठमाडौं । सार्वजनिक संस्थानमा सरकारको लगानी ७ खर्ब ३ अर्ब रुपैयाँ नाघेको छ । यो लगानीबाट सरकारले पाएको लाभांश भने ८ अर्ब रुपैयाँ मात्रै रहेको अर्थमन्त्री विष्णु पौडेलले सार्वजनिक गरेको गत आर्थिक वर्ष २०८१/८२ को आर्थिक सर्वेक्षणमार्फत उल्लेख गरेको छन् ।
सार्वजनिक संस्थानमा सरकारले गरेको ७ खर्बको लगानीमध्ये सेयर लगानी ३ खर्ब ६४ अर्ब ८६ करोड र ऋण लगानी ३ खर्ब ३९ अर्ब ७ करोड रुपैयाँ रहेको छ।
सार्वजनिक संस्थानले मुलुकको आर्थिक तथा सामाजिक विकासमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्दै आएका छन्। यिनीहरूको स्थापना, सुदृढीकरण, सुधार तथा विकासले मुलुकको समग्र आर्थिक, सामाजिक, राष्ट्रिय पुँजी निर्माण, आय वृद्धि तथा रोजगारी सिर्जना जस्ता क्षेत्रमा उल्लेखनीय योगदान पुग्न गएको छ।
यस्ता प्रतिष्ठानहरूको संस्थागत संरचना, सञ्चालन, नीति, कार्य योजना, वित्तीय अनुशासन, पारदर्शिता, जबाफदेहिता, दक्षता तथा सेवा प्रवाहमा अझै सुधारको आवश्यकता देखिएको अर्थमन्त्री विष्णु पौडेलले विहीबार संसदमा पेश गरेकाे सार्वजनिक संस्थानको आर्थिक वर्ष २०८०/८१ को समग्र अवस्था, उपलब्धि, सञ्चालनको चुनौती र सुधारका क्षेत्र जस्ता विषयलाई समेटेर सार्वजनिक संस्थानको वार्षिक स्थिति समीक्षा २०८२ मा उल्लेख छ ।