एनआई सी एशियाको कर्पोरेट कार्यालय आफ्नै भवनमा

काठमाडौं । एनआई सी एशिया बैंक लिमिटेडको कर्पोरेट कार्यालय कमलादी, काठमाडौं–२८ स्थित आफ्नै भवनमा स्थानान्तरण भएको छ । उक्त नवनिर्मित भवनमा वैदिक सनातन विधिपूर्वक पूजाअर्चना गरि बैंक सञ्चालक समितिका अध्यक्ष तुलसीराम अग्रवालले उद्घाटन गरेका हुन् । 

नेपाल राष्ट्र बैंकबाट स्वीकृत प्राप्त गरी यसअघि रहेको थापाथली, काठमाडौं–११ स्थित ट्रेड टावरबाट प्रमुख कार्यकारी अधिकृतको कार्यालय, अन्य कार्यकारी अधिकृतहरुको कार्यालय लगायत विभिन्न विभागहरु आफ्ना सम्पूर्ण सेवा तथा सुविधाहरु कमलादीस्थित कर्पोरेट कार्यालयबाट प्रदान गर्ने गरी कर्पोरेट कार्यालय स्थानान्तरण भएको हो । कार्यालय स्थानान्तरण भएसँगै ग्राहक तथा सरोकारवालाहरुले उक्त स्थानबाट बैंकले प्रदान गर्ने सम्पूर्ण सेवाहरु थप सहजताका साथ प्राप्त गर्ने विश्वास बैंकले लिएको छ । 

उक्त समारोहमा बैंक सञ्चालक समितिका सदस्यहरु, प्रमुखकार्यकारी अधिकृत तथा बैंकका उच्चपदस्थ अधिकारीहरुको उपस्थिति रहेको थियो ।   

एनआई सी एशिया बैंकले मुलुकभर ३६० शाखा कार्यालयहरू, ६७० एटिएम, ११६ वटा विस्तारित काउन्टर एवं ४२ वटा शाखा रहित शाखा सञ्जाल विस्तार गरेको छ । साथै, बैंकले वित्तीय समावेशीकरणका लागि मुगु, कालिकोट, बझाङ, रूकुम, जुम्ला, सल्यान जस्ता बैंक तथा वित्तीय संस्थाहरूको उपस्थिति न्यून रहेका दुर्गम जिल्लाहरूमा समेत आफ्नो सेवाविस्तार गरेको छ ।