भिजिट भिसामा संलग्नता पुष्टी भए राजनीतिबाट सन्यास लिन्छु : गृहमन्त्री लेखक

काठमाडौं । गृहमन्त्री रमेश लेखकले भिजिट भिसा प्रकरणमा आफ्नो कुनै संलग्नता नभएको दावी गर्नुभएको छ । शनिबार नेपाली कांग्रेस धनुषा जिल्ला कार्यसमितिले पिपडियामाईस्थानस्थित पार्टी कार्यालयमा आयोजना गरेको कार्यकर्ता भेटघाट कार्यक्रममा लेखकले सो प्रकरणमा आफ्नो कुनै संलग्नता नभएको जिकिर गर्नुभएको हो। 

गृहमन्त्री लेखकले भिजिट भिसा प्रकरणमा आफ्नो संलग्नता पुष्टि भएमा राजनीतिबाट नै सन्यास लिने पनि घोषणा समेत गर्नुभयो।

‘केही दिनदेखि भिजिट भिसासँग जोडेर मेरो बारेमा सामाजिक सञ्जालमा लेख्ने काम भइरहेको छ। यो कहाँबाट, कसरी, किन भइरहेको छ भन्ने खोजी राखेको थिएँ,’ उहाँले भन्नुभयो, ‘यो विषयमा मैले धेरै कुरा थाहा पाइसकेको छु, आजै काठमाडौं गइ सकेपछि गृह मन्त्रालयले विज्ञप्ति निकाल्छ। दुई चार दिनमा आफैँ पनि केही कुरा बोल्छु।’

गृहमन्त्री लेखकले आफ्नो कारणले कांग्रेसको शिर झुक्न नदिने उल्लेख गर्नुभएको छ।